निषेधाज्ञाले उपत्यकामा कोरोना संक्रमण घट्यो

काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी गरिएको निषेधाज्ञाको १० औं दिन पुगेको छ । दोस्रो पटक एक हप्ताका लागि थप भएको निषेधाज्ञाका कारण उपत्यकामा सडकहरु दिउँसोको समयमा सुनसान देखिएका छन् ।

निषेधाज्ञा उलंघन गर्ने केही सवारीहरुलाई प्रहरीले होल्ड गरेको थियो । उपत्यकामा जारी भएको निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले कडाई गर्न थालेको हो । प्रशासनले अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन गर्न अनुमति दिएपनि अटेरी गर्ने बढेपछि प्रहरीले कडाई गरेको हो । आज अत्यावश्यक बाहेकका सवारी साधान सडकमा देखिएका छैनन् । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधानलाई निर्वाध रुपमा सञ्चालनमा रहेका छन । दैनिक उपभोग्य वस्तु, तरकारी र औषधि पसलहरु भित्रि क्षेत्रमा खुला रहेका हुन । प्रशासनले विहान सवा ९ बजे सम्म मात्रै पसल खोल्न भनेपनि भित्रि गल्लीहरुमा त्यसको पालना हुन सकेको छैन । कोरोना संक्रमण बढेसँगै सरकारले काठमाडौ, ललितपुर र भक्तपुरमा १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

यसैबीच उपत्यकामा कोरोना संक्रमण घटेको छ । शुक्रबार उपत्यकामा ४१५ जना संक्रमित भेटिएकोमा शनिबार सो संख्या घटेर १८६ जनामा सीमित भएको हो ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा गरी जम्मा १८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यसअघि शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?