देशभर ७१ पत्रकारमा देखियो कोरोना संक्रमण, महासंघले सरकारसँग गर्‍यो यस्तो माग

काठमाडौं । हालसम्म देशभर ७१ जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल पत्रकार महासंघको अभिलेख भएअनुसार उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका छन् ।

जसमा केही पत्रकार महिलामा समेत सक्रमण देखिएको छ । महासंघको अभिलेखअनुसार मलुकका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका महासंघले जनाएको छ ।

जसअनुसार प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना रहेका छन् ।

त्यस्तै प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । जसमा पर्सा १३, बारा ४, धनुषा २, सप्तरी ३, सर्लाही ३, महोत्तरी १ र रौतहटमा १ जना रहेका छन् ।

बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित हुन पुगेका छन् । जसमा काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । जसमा कास्कीका १ जना र नवलपुरका ७ जना रहेका छन् ।

प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति हुन पुगेका छन् । त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।

संक्रमितमध्ये केही निको भइसकेका छन् केही उपचाररत अवस्थामा रहेको महासंघले जनाएको छ ।

महासंघले शुक्रवार एक विज्ञप्ति जारी गर्दै उपचाररत सबै सञ्चारकर्मीहरुको स्वास्थ्य लाभको कामनासहित उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग समेत गरेको छ ।

“महासंघ उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यो विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय छ । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । महासंघ संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।

साथै, महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न आम पत्रकार तथा सञ्चारकर्मीहरुमा महासंघले अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?