काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संचार माध्यमहरूले आफूले आफन्तलाई नियुक्ति दिएको भन्ने समाचार सम्प्रेषण गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
आफ्नो सम्धीलाई नियुक्ति दिलाएको भन्दै चर्को आलोचना खेपेका उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु ।’
उनले यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुन समेत तयार रहेको पोखरेलले बताएका छन् ।
‘मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका तथा गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु । यस्तो विषयका कारण दुःखित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु ।’, नेकपा सचिवालय सदस्य समेत रहेका उनले भने ।
उनले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेर बन्दी जीवन विताइरहेका बेला पनि “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको भन्दै उनलेभनेका छन्, ‘अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् १ म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु ।’
उनले शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनताको विश्वास र भरोसालाई कहिल्यै कमजोर हुन नदिने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया