नवराज सिलवाल : शपथअघि लुसुक्क, शपथपछि उत्साहित

काठमाडौँ, २१ फागुन- आइतबार अपराह्न ४ बजे प्रतिनिधिसभाका सदस्य र ५ बजे राष्ट्रिय सभाका सदस्यको शपथ तय गरिएको थियो । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहानैदेखि संसद् सचिवालयका कर्मचारी तयारीमा व्यस्त थिए । सांसदहरू दिउँसो २ बजेदेखि नै संसद् भवनमा छिर्न सुरु गरेका थिए, आजको नयाँ पत्रिकामा खबर छ  ।यता प्रहरीको फरार सूचीमा रहेका एमाले सांसद नवराज सिलवाललाई धेरै पत्रकार तथा सांसदले ‘नोटिस’ गरिरहेका थिए ।पूर्वडिआइजीसमेत रहेका सिलवाललाई आइजिपी बढुवाका क्रममा कार्यसम्पादन मूल्यांकन किर्ते भएको ठहर गर्दै सर्वोच्च अदालतले आवश्यक अनुसन्धान गर्न सरकारका नाममा आदेश दिएको थियो ।आदेशपछि ५ पुसमा प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । जाहेरीपछि परिसरले सिलवाललाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेको थियो ।लगत्तै ललितपुर परिसरले सिलवालविरुद्ध पक्राउ पुर्जी काटेको थियो । तर, उनी फरार हुँदै आएका थिए ।शनिबार एमाले–माओवादीका सांसदहरूको प्रशिक्षणमा झुल्किएका उनी आइतबार शपथ खान पनि गए । स्रोतका अनुसार एमाले नेता माधवकुमार नेपालको गाडीमा उनी संसद् भवन पुगेका थिए ।शपथपछि अन्य सांसदभन्दा ढिलो गरी बाहिरिए र अन्य सांसदसँग फोटो खिचाए । उनी सञ्चारकर्मीसँग कुरा गर्न तयार पनि भए ।प्रहरी संगठनमा काम गरेको व्यक्ति, राजनीतिमा लागेर जनप्रतिनिधिका रूपमा शपथ लिँदा कस्तो अनुभव गर्नुभयो भन्ने प्रश्नमा जवाफ फर्काए, ‘म अहिले केही भन्ने पक्षमा छैन ।मैले जिम्मेवारी पाएको छु । जिम्मेवारी निर्वाह गर्नेछु ।’ धेरै बोल्न नचाहे पनि शपथपछि भने उनमा उत्साह र आत्मविश्वास देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?