कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको बतएका छन् ।

देशका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल पूर्ण रुपमा उडान सुचारु गर्ने अवस्था नभएपनि केही हिमाली र पहाडी जिल्लामा सञ्चालन गर्ने तयारी भइरहेको बताए । मन्त्रालयको गत आर्थिक वर्षको वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा मन्त्री भट्टराईले वायु सेवा सञ्चालकहरुसँग केही हिमाली र पहाडी जिल्लाहरुबाट आन्तरिक उडान सुचारु गर्ने विषयमा कुरा भइरहेको बताए ।

उनले भने, ‘‘देशका विभिन्न ठाउँहरुमा निषेधाज्ञाको अवस्था भएकाले तत्काल चल्ने अवस्था छैन । तर मन्त्रालयले केही हिमाली र पहाडी जिल्लाहरुबाट सञ्चालन गर्न सकिन्छ भनेर कुरा गरिरहेको छ । वायु सेवा सञ्चालकहरु सँग कुरा गरेर निष्कर्षमा पुग्छौँ । मन्त्री परिषदमा प्रस्ताव लगेर छिट्टै उडान सुरु गर्ने तिर जान्छौँ ।’’

उनले सम्भवतः दशै तिहारलाई मध्यनजर गर्दै आन्तरिक उडान सुरु हुने संकेत गरे । चाडबाडको बेला नागरिकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज हुने कुरामा सरकारले सकारात्मक भएर सोच्ने उनले बताए । उनले भने, ‘‘दशै तिहार लगायतका चाडबाडलाई मध्यनजर गर्दै उडान सुरु हुने अपेक्षा गरेका छौँ । एक ठडाउँबाट अर्को ठाउँमा सहज ढंगले जानुपर्छ भन्ने कुरामा सरकारले सोच्नेछ ।’’

आन्तरिक उडानमा स्वदेशी र विदेशी नागरिकलाई भाडादरमा समानता गर्ने विषयमा पनि मन्त्रालय सकारात्मक रहेको उनले बताए । भाडादरका विषयमा अध्ययन गर्न कार्यदल नै गठन भएको उल्लेख गर्दै उनले कार्यदलको सुझाव अनुसार वायु सेवा कम्पनीहरुसँग सहमति गरेर एकरुपता ल्याउने प्रयास गरिने बताए ।

नियमित उडानमार्फत विदेशमा अलपत्र नागरिकहरुलई भदौ १६ गतेबाट नियमित उडान मार्फत ल्याइने उनले बताए । तत्काल दैनिक ५ सयभन्दा नबढ्ने गरी अलपत्र नागरिकलाई स्वदेश ल्याउने उल्लेख गर्दै उहाँले यात्रुमा संक्रमणको अवस्था न्यून देखिए र सरकारले बनाएको मापदण्ड पालना भए सँख्या बढाइने बताए ।

कोरोना महामारी सुरु भएपछि ५२ हजार नागरिकहरुलाई विभिन्न देशबाट नेपाल ल्याइएको उनले बताए । करिब २० हजार यो अवधिमा नेपाल बाहिर गएका छन । चार्टर्ड उडानहरु व्यवस्थित हुन नसकेको स्वीकार गर्दै मन्त्री भट्टराईले बाध्यतामा हुने उडानले गर्दा केही समस्या देखिएको बताए । चार्टर्ड उडाहरुको संख्या घटाउँदै भदौ १६ गतेबाट नियमित उडानको अभ्यास सुरु गर्न कार्यतालिका सार्वजनिक भएको उनले बताए । त्यसपछि परिस्थिति हेरेर नियमित उडानको तयारी थालिने छ ।

नेपाल वायुसेवा निगमको कुल सम्पत्ती ५४ अर्ब १७ करोड रहेको उनले बताए । निगमलाई उदृत गर्दै मन्त्री भट्टराईले ४५ अर्ब ९४ करोड ऋणमा निगम रहेको बताए । उनले चिनियाँ जहाजहरु नेपाली आकाशमा उठाउन उपयुक्त नदेखिएकाले ग्राउण्डेड गर्नुपरेको समेत बताए । अनुदानमा प्राप्त भएका र निगमले खरिद गरेका जहाजहरुको सम्पूर्ण पक्ष विश्लेषण गर्दा जहाजहरु नेपाली आकाशमा उडाउन उपयुक्त नदेखिएको उनले बताए ।

निगमल विभिन्न कमिटीहरु बनाएर विमानहरुको विषयमा अध्ययन गर्दा नेपाली आकाशमा उडाउन उपयुक्त नभएको निष्कर्ष निकालिएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसको उपयुक्त विकल्प के हुन सक्छ भनेर अर्थ मन्त्रालयसँग राय मागिएको बताए । चीनसँगको कुटनीतिक सम्बन्ध र नेपालले तिनुपर्ने बाँकी रकमलाई समेत मध्यनजर गर्दै अर्थमन्त्रालयको राय आएपछि निर्णय हुने उनले बताए ।

राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि अहिलेसम्म ६० हजार रुखको गणना भइसकेको उनले बताए । वनमन्त्रालय लगायतका निकायहरुसँग समन्वय अभावले काम प्रभावित भएको उनले बताए । पोखरा विमानस्थल तोकिएकै समय (३० जुन)मा सम्पन्न हुने उनले बताए । भैरहवा विमानस्थलमा कोरोनाका कारण कामदार आउन नसक्दा समस्या भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?