बढ्यो जोखिम : काठमाडौंमा कोरोना संक्रमितको नयाँ रेकर्ड, थपिए हालसम्मकै धेरै संक्रमित

काठमाडौं । काठमाडौंमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा पछिल्लो २४ घण्टामा मात्रै १९९ जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा थपिएका २३२ जना संक्रमित मध्ये १९९ जना संक्रमित काठमाडौंका रहेका छन् ।

काठमाडौंमा मात्रै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । एक महिला र दुई पुरुषको पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु भएको हो ।

यसैबीच नेपालमा आज (मंगलवार) थप ८५५ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १६४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ ।

नेपालमा हिजो (सोमवार) ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?