२०७७, ७ भाद्र आईतवार १३:४२

मानवतावादी राजा : जयपृथ्वी बहादुरसिंह !


प्रकाशित मिति : २०७७, ७ भाद्र आईतवार १३:४२

माधव जोशी / काठमाडौं । सुदुरपश्चिमको एउटा विकट जिल्ला बझाङमा वि.स. १९३४ भदौ ७ गते आमा रूद कुमारी सिहं र बाबु विक्रम बहादुर सिहंको कोखबाट जन्मिएएका थिए मानवतावादी बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंह । बझाङबाट उनी ८ वर्षको उमेरमा काठमाडौं पढ्न आए । पढ्न आउँदा जनताहरु रुन थाले । आफू मानिसहरुको सेवा गर्नको लागि नै पढ्न जादै गरेकाले अरुलाई नरुन आग्रह गर्दै सम्झाए ।

केहि वर्ष काठमाडौंमा पढेपछि भारतको प्रयागबाट आइए सम्मको पढाई उनले पुरा गरे । राणाहरुसँगको सम्बन्धको कारण बझाङ्गी राजाले १६ वर्षको उमेरमा राणा प्रधानमन्त्री श्री ३ चन्द सम्शेरकी छोरी खगेश्वरी सँग विवाह गरेका थिए । राणाका ज्वाइँ भएकाले पनि राणाहरूको जीवन शैली एवम् सत्ताको लडाइलाई पनि नजिकबाट देखेका थिए बझाङ जस्तो विकट जिल्लामा जन्मेकाले नागरिकको शैक्षिक सामाजिक आर्थिक राजनीतिक अवस्था पनि राम्रोसँग बुझेका थिए।

नेपालको न्याय निष्पक्षता,राष्ट्रियता र जनसाधारणको भलाइ नै जयपृथ्वी बहादुर सिंहको मूल मन्त्र थियो । जसबाट त्यस बेलाका भ्रष्ट्र शासक उनलाई विचलित पार्न असमर्थ रहे। आफ्नो अधिनमा पार्न श्री ३ चन्दशमसेरले उनलाई विभिन्न उच्चस्तरीय ओहोदामा राखे पनि जयपृथ्वीका हृदयमा राष्ट्रियता , स्वतन्र राष्ट्र निर्माणको चेतना हुर्किसकेको, विश्व शान्ति र मानववादको धारणा बनाइ सकेकाले श्री ३ चन्द शमशेरको एकतन्त्रीय ,जन विरोध अंग्रेज परस्त शासनको चक्रमा पिसिएर परिवर्तन असम्भव देखेर भारतमा बसी नेपालको एकतन्त्रीय शासन व्यवस्था हेरफेर गर्न सहयो पुर्याउनुका साथै विश्व भ्रमण गरि जनस्तरबाट नेपाललाई सम्मानकासाथ विश्वमा परिचित गराएका थिए ।

नेपालका एक महानपुरूष जसले प्रतिकूल परिस्थितिमा पनि आफ्नो विचार दिए, जसले मानिस यस कारणले महान र समान हो भनेर चिन्तन समेत दिएका थिए। जतिखेर सारा मानिसले जीउधन सरकारी भनेर झुक्नुपथ्र्यो । त्यस बेला मानिसले मानिस भएर यसरी बाच्न पाउनुपर्छ भनेर सिकाउने एक नेपालीको उदय भएको थियो जसले मान्छेको महत्त्व बोध गराइ विश्व आस्था मैत्रीसँग र संयुक्त राष्ट्र संघजस्ता विश्व संस्था स्थापना गर्ने प्रेरित गरेको थियो।

मानववाद मानव समस्याहरू समाधानको प्रमुख साधनका रूपमा समर्पित एक दर्शन हो। यसले सङ्कल्पवाद र भाग्यवादमा विश्वास गर्दैन ।यसको प्रमुख ध्यानाकर्षण मान्छेका लागि उसको क्षमताबृद्धिका लागि उसको आपूर्तीका लागि निर्माणका लागि र उसका कार्यमा संवेदनशील हुनका लागि हो । मानवतावादले अध्यारोको डरमा मात्र होइन तपाईंको उज्यालोमा प्रत्येक चिजको परीक्षण गरेर मान्छेको माया र रेखदेख मान्छेले नै गर्दछ भन्ने कुराको विश्वास गर्दछ।

वास्तवमा मानव सभ्यताको बीच नै विचार हो । एकपटक सत्य विचारको बीजारोण भएर अवश्य पनि अङकुरित हुन्छ पल्लवित हुन्छ र पुष्पित हुन्छ। अनि सच्चा मानव पनि त्यही हो जसले स्वतन्त्र रूपले खुसीका साथ प्रगतिमुखी नियमको सही पालना गर्दछ।

चिन्तन त्याग र कर्मयोगका एकीकृत प्रतिमूर्ति जयपृथ्वी आफ्नो सम्पूर्ण राजसी सुखसयलाई तृणगत ठानी मानव मात्रको सुख खुसी समृद्धि र शान्तिका लागि मानववादलाई विश्व मानवका मन मुटु र मस्तिष्क सम्म पुर्याउन गरेको प्रयास नेपालका लागि गौरवको विषय हो।

आज पनि हतियारको होडबाजीबाट आक्रान्त विश्वमानव समाजलाई निःशस्त्रीकरण सहिष्णुता पुर्ण व्यवहार र युक्तिसंगत सहयोग आवश्यक छ। मानवजातिकै एकनासको विकास आवश्यक छ। प्रत्येक नागरिकको सोचाइमा शान्तिको अभ्यास हुनु आवश्यक छ। प्रत्येक नागरिकले शान्तिलाई आफ्नो जीवनपद्धति बनाउनु आवश्यक छ । आफ्नो जीवनमा आदर्श एकता सहयोग र सदभावनामा बदल्नु आवश्यक छ ।

राजा जयपृथ्वी बहादुरले मानवतावाद हो मेरो सिद्धान्त मेरो न कुनै धर्म छ तपाईंहरू पनि मानवतावादी आउनुहोस र आफ्नो चिन्तनशक्तिको सदुपयोग गर्नुहोस भन्ने सन्देश लिएर विश्व भ्रमण गर्ने एसियाकै पहिला व्यक्ति हुन जयपृथ्वी । तत्कालीन विश्वसमुदायमा एक आकर्षण र केन्द्रीय व्यक्तित्वका रूपमा प्रतिष्ठित हुनु हुन्थ्यो भन्ने कुरा अन्तराष्ट्रिय पत्रपत्रिकाले पनि उनको व्यक्तित्व माथि प्रकाश पारी आएको छ । जसमध्ये न्युयोर्क टाइम्सले लेखेको छ, “सन १९३३ अगस्ट २७ मा उदघाटन हुने विश्व आस्था मैत्री सम्मेलनमा सम्बोधन गर्ने विभिन्न व्यक्तिहरूमा एक जना नेपालका जयपृथ्वी बहादुर सिंह जो सबैभन्दा आकर्षणका व्यक्ति हुनेछन् । उनी भूतपूर्व राष्ट्रपति हवर्ट हुवन न्यूटन डी बेकर तथा प्रोफेसर जोन देवेले आयोजना गरेको सम्मेलनमा भाग लिन यस न्युयोर्क सहरमा आइपुगेका छन। मानवतावादी राजा जयपृथ्वी बहादुर सिहं नेपालमा साम्यवादी रचनाको अध्ययन गर्ने प्रथम व्यक्ति बझङ्गी राजा जयपृथ्वी बहादुर सिंह हुन भनिन्छ ।”

उनी मानवतावादी भएका कारणले उनको चन्द शमशेर संग असमझदारी बढयो र उनले भारत स्वानिवासनमा जानु पर्यो भारतमा उनको विश्वयात माक्र्सवादी तथा लेलिनको समकालीन एम एन रायसंग सम्पर्क भयो ।

आफ्नो मानवतावादी विचारको सिलसिलामा जयपृथ्वी युरोप सम्म पुगे । मदनमणि दीक्षितका अनुसार भियतनासिधत सोभित दूतावासबाट जयपृथ्वी बहादुर सिंहले मस्को जाने राहदानी प्राप्त गर्ने कोसिस गरेका थिए । उनी मस्कोमा लेलिनसंग भेट गर्न चाहेका थिए तर युरोपका जनताका कारण उनको प्रयास असफल भयो तर लेलिनलाई राजनीतिक विषयमा भेट्न एक नेपाली वि स १९७८ तिर नै कोशिस गरेको भने देखिन्छ ।

वि स १९८२ बैशाखमा दास प्रथाको पनि उन्मुलन गरियो जयपृथ्वी बहादुर सिंह मानवतावादी आन्दोलन उठाउन लागेका र अक्टोवर क्रान्तिले विश्वव्यापी रूपमा असर पार्न थालेकाले नै उपयुक्त सुधार कार्यहरू गरिएका हुन भन्ने देखिन्छ ।

यिनी एउटा दार्शनिक र लेखक पनि हुन आफ्नो मिसनको र विश्व एकताका लागि एसिया क्लब टोकियोमा प्रवचन दिदै यिनले मानवतावादी क्लब को धारणा विश्वभरि प्रचार ( प्रसार गरियो भने विश्वका राष्ट्रहरूले आफ्नो सैन्यशक्ति र सामुन्द्रिक उपकरणमा भारी रकम खर्च गर्नुपर्ने छैन र विश्व भरिका नागरिकहरूमा मित्रताको भावनाबाहेक अरू केही हुने छैन भन्ने कुराको व्याख्या गरेका थिए।

मानवतावादी राजा जयपृथ्वीले नेपाली गाउँबस्तीभित्र नेपाली आमाको मौलिक रूपभित्र खोज र मानवमात्रको अन्तर्मनमा आफ्नो दर्शनलाई खोजेका थिए । उनले नेपाली समाजका लागि मात्र नभई विश्व समाजका लागि नै अभूतपूर्व र चमत्कार देखाएका थिए । परिवर्तनकारीहरूका लागि न पद चाहिन्छ न राज्यसत्ता भन्ने विस्वास उनीबाट सिके हुन्छ । काठमाडौंको नक्सालमा स्थापना गरेको सत्यवादी पाठशालालाई उनले बझाङमा सारेका थिए । त्यतिबेला सुदुरपश्चिमका अधिकाश जिल्लाका मानिसले शिक्षा लिने स्कुलका रूपमा पनि सत्यवादी चिनिन्थ्यो ।

मानवतावादी राजा जयपृथ्वीले बझाङका सबै बालबालिका शिक्षित बनुन भनेर प्रत्येक साताको मंगलबार आठ वर्ष माथि उमेर भएका बालबालिकाका आमाबुबालाई भोज खुवाएर बालबालिकालाई पाठशाला पठाउन प्रेरित गराउनाले बझाङमा त्यसबेला शिक्षा क्षेत्रमा ठुलो क्रान्ति ल्याएका थिए । विस १९८५ तिर बझाङका धेरै मानिस शिक्षित थिए र सत्यवादीमा पढेका विद्यार्थी सुदुर पश्चिमका अधिकांश जिल्लामा पढाउनको लागि जान्थे ।

त्यतिबेला देखि उद्यमशील क्षेत्रमा संलग्न बझाङ जिल्ला विस १९५५ मा बझाङबाट पिछडिएका विभिन्न मानिस काठमाडौं ल्याइ तालिम दिलाएर बझाङमा छाला तामा फलाम तथा घरेलु कपडा र सिलाइ उद्योग पाठशाला भन्दा अलिपर नेपाली हाते कागजउद्योग थियो विद्यार्थीलाई चाहिने कागज त्यही उद्योग बाट उत्पादन गरिन्थ्यो । हुनत भदौ ७ लाई जयपृथ्वी जयन्ती मनाउने पनि गर्छन् तर त्यो बझाङमा मात्र यस्ता महान दार्शनिक र राष्ट्र नायकलाई विश्वभरि मनाउनु पर्ने हो तर के गर्नु एउटा राष्ट्रिय विभूति पनि बनाउन नसक्नु दुःखद कुरा हो ।

(लेखक जोशी शंकरदेव क्याम्पसमा अध्ययन गर्ने विध्यार्थी हुन् )

प्रतिक्रिया दिनुहोस