जथाभावी खनेको सडकले बगायो गाउँ

बझाङको बुँगल नगरपालिका–३ को मिणी पुस्तौं पुरानो बस्ती हो। मिणीका ६७ वर्षीय ददी कुँवर त्यही गाउँमा जन्मिए, हुर्किए। अहिलेसम्म उनको गाउँमा माथिबाट एउटा ढुंगासमेत खसेको याद छैन। तर सोही गाउँमा मंगलबार राति पहिरो जाँदा दुईजनाको मृत्यु हुनुका साथै ४ जना घाइते भए। १५ घरपरिवार विस्थापित भएका छन्। नागरिक दैनिकमा खबर छ ।

गाउँमाथिबाट सडक खनेपछि यसपालि गाउँ नै विस्थापित भएको कुँवरले बताए। उनले भने, ‘हामीले गाउँमाथिबाट बाटो नबनाऊ भन्दाभन्दै पनि स्थानीय तहले बाटो बनाइदिँदा बस्ती नै विस्थापित बन्यो।’ सडक नबनाउन अनुरोध गर्दा विकासविरोधीको संज्ञा दिइएको बताउँदै उनले भने, ‘पहिले मलाई नै विकासविरोधी बनाइयो, अहिले त्यही विकासले बस्ती उजाड बनाइदियो।’

गाउँमाथि खेल मैदान र सडक निर्माण गर्दा जम्मा गरिएको माटोको ढिस्को वर्षाको भलले बगाएर कोलु खोलामा थुप्रिँदा पानीको बहाव थेग्न नसकेपछि खोला गाउँमा पसेको थियो। गाउँमा पसेको खोलाले पूरै बस्ती नै विस्थापित गरिदिएको कुँवरले बताए।

‘गाउँका लागि ल्याइएको खानेपानीको ट्यांकीमा बाढीको पानी पस्यो, त्यहींबाट हाम्रो दशा आयो,’ उनले भने, ‘खोलाको बहाव बढ्यो, त्यो पानी खानेपानीको ट्याङ्कीमा पस्यो, त्यहींबाट बहाव बढेर गाउँ नै विस्थापित बनाइदियो।’ यो सबैको कारण सडक निर्माण नै भएको उनी बताउँछन्। बाढीसँग आएको पहिरोले प्रताप ताम्राकारको घर बगाएको थियो भने अन्य १५ परिवार विस्थापित बनेका हुन्।

बुगल नगरपालिकाले क्रिकेट मैदान बनाउने नाममा ५० लाख र्खच गरेर डाँडो काटेर मैदान बनाएको बताउँदै कुँवरले भने, ‘त्यहीसँगै रिङरोड बनाउने भन्दै सडक बनाएर माटो थुप्र्याइयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?