उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सिसिएमसी निर्देशक समितिले अनुमति नदिँदा मंगलबार दुई सय ६६ नेपाली दुबई विमानस्थलबाट उडन पाएनन् । घर आउने सम्पूर्ण तयारी पूरा गरी विमानस्थल पुगेका उनीहरू निराश भएर त्यहाँबाट फर्कनुप-यो । जहाज रित्तै फर्कियो । यस विषयलाई लिएर सरकारका दुई मन्त्रीबीच विवाद भयो ।
यसअघि सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई घर ल्याउने निर्णय गरेको थियो । तर सोमबार साँझ सिसिएमसीले कोरोनाकै कारण देखाएर एकाएक विदेशबाट नेपाली नल्याउन पत्राचार ग-यो । घर फर्कन दुबई विमानस्थलमा तयारी अवस्थामा बसेका दुई सय ६६ नेपाली सिसिएमसीको यस्तो पत्राचारका कारण उड्न पाएनन् । सिसिएमसीको निर्णयको पर्यटनमन्त्री योगेश भट्टराईले विरोध गरेपछि उनी र रक्षामन्त्री पोखरेलबीच विवाद भएको छ ।
पोखरेलको संयोजकत्वमा गठित ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिले उद्धार उडान गर्न रोक लगाएको हो । स्रोतका अनुसार संयोजक पोखरेलले सरोकारवाला अन्य पक्षसँग समन्वय नगरी विदेशबाट उद्धार उडान गर्न रोक लगाएका हुन् । सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि सिसिएमसी गठन गरेको हो ।
सिसिएमसीको मंगलबार बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन सिसिएमसीले उडान भर्न रोक लगाउँदा सरकारको छविसमेत बिग्रेको तर्कसहित विरोध गरेका थिए । उनले सिसिएमसीले सरोकारवाला पक्षसँग समन्वय नगरी उद्धार उडानमा रोक लगाएको भन्दै आपत्ति जनाएका थिए । उनी पनि सिसिएमसीका सदस्य हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा मुलुकमा कोरोना संक्रमण फैलिएकाले त्यसको रोकथाम र नियन्त्रणका लागि ठोस प्रस्ताव ल्याउन सिसिएमसीलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनबमोजिम मंगलबार सिसिएमसीको बैठक बसेको थियो । सो बैठकमा मन्त्री भट्टराईले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन कुन आधारमा रोक लगाइएको हो ? उनीहरू विमानस्थलबाट फिर्ता हुनुपर्ने अवस्था किन आयो ? भन्दै पोखरेलसँग प्रश्न गरेको स्रोतले बतायो ।
सिसिएमसीले अनुमति नदिँदा दुबई विमानस्थलबाट २६६ नेपाली श्रमिकको उद्धार हुन नसकेपछि पर्यटनमन्त्री भट्टराईले बैठकमा आपत्ति जनाएका हुन् । ‘सरकारको स्पिड एकातिर छ, हाम्रो काम गर्ने शैली अर्कोतिर छ । सरकारले विदेशबाट अढाई सय नेपालीलाई ल्याएर घर पठाउने वातावरण बनाउन सक्दैन ? यो कस्तो प्रकारको समन्वय हो ? के गर्न खोजेको हो ? कसको पक्षपोषण गर्न खोजिएको हो ? सबै प्रक्रिया पुगेका नेपालीलाई विमानस्थलमा अलपत्र पारेर जहाज किन फिर्ता आयो ? के हामीले विदेशी नागरिक ल्याउन लागेका थियौं’, पर्यटनमन्त्री भट्टराईले बैठकमा प्रश्न गरेका थिए ।नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया