दैलेखमा पहिरोमा परी दुई जनाको मृत्यु : एक बेपत्ता

काठमाडौं । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिराले सात घर बगाएको छ । पहिराले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ठाटीकाँध –४ का १२ वर्षीय जनक कठायत हुन् । मृतकका बुबा ४२ वर्षीय टीका, आमा ४० वर्षीया धनसरा, दिदी १७ वर्षीया बेल र दाजु १५ वर्षीय शम्शेर घाइते भएको वडा नं ४ का वडाध्यक्ष रमेश सिंजापतिले बताए । उनले भने, “हामीले पहिरो गएको खबर २ बजे पाउनेबित्तिकै उद्धार गर्‍यौं । एक जनाको अवस्था सिकिस्त छ । अन्यको अवस्था सामान्य रहेको छ ।”

बेपत्ता हुनेमा दानबहादुर कठायतका छोरा ११ वर्षीय लोकेश छन् । पहिरामा परी सोही ठाउँका ३४ वर्षीय महेन्द्र शाही र २३ वर्षीय गम्म नेपाली घाइते भएका छन् ।

त्यसै गरी दैलेखको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका –५ कट्टीमा पहिराले घर पुर्दा ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी मङ्गलबार रामघाट खोलामा आएको बाढी आठबीस नगरपालिका –१ रामघाट बजार पस्दा लाखौंँ क्षति भएको स्थानीयवासी नैनबहादुर शाहीले बताए ।

कर्णाली नदीमा पानीको बहाब बढेपछि रामघाट खोलाको पानी राकियो बजार पस्दा लाखौंको सरसमान बगाएको र मान्छे भागेर सुरक्षित ठाउँमा गएको जनाइएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?