मरेका कुखुराको मासु बिक्री गर्ने पक्राउ

काठमाडौं । काठमाडौंमा मरेका कुखुराको मासु बिक्री गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-३१ प्रयाग मार्गस्थित बिएण्डबी मीट मार्टका सञ्चालक काभ्रे पनौती नगरपालिका-१० घर भएका ३३ वर्षीय कृष्णचरण गोछेलाई मरेका कुखुराको मासु विक्री गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त मासु पसलमा करिब १ हजार किलोग्राम मरेका कुखुरा बिक्रीको लागि राखिएको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले गोछेलाई नियन्त्रणमा लिएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिको उपस्थितिमा उक्त मासु खाल्डोमा पुरेर नष्ट गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?