अनुदानका लागि संक्रमित संख्या माग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमितको उपचार गरेवापत अनुदान उपलब्ध गराउनका लागि निजी अस्पतालसँग बिरामीे संख्या माग गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का शङ्कास्पद तथा संक्रमित व्यक्ति राखी उपचार गर्ने अस्पताललाई अनुदानका लागि संक्रमित कति दिन अस्पतालमा बसेको र संक्रमितको संख्या माग गरेको जानकारी दिए ।

उनका अनुसार लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामीका लागि २००, लक्षण नभएका वा सामान्य लक्षण भएका दुई हजार, सामान्य लक्षण भएकालाई तीन हजार ५००, मध्यम जटिल बिरामी सात हजार र जटिल र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार प्रतिदिन दिनका लागि संख्या माग गरिएको हो । २०० घरमा स्वास्थ्यकर्मीले क्लिनिकल निगरानी गर्दा लाग्ने खर्च र दुई हजार आइसोलेशन केन्द्रमा बसेको खर्च अनुदान दिनका लागि तोकिएको छ ।

मन्त्रालयले कोभिड–१९ को संक्रमणको उपचार वापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश २०७७ ल्याएर निजी अस्पताललाई पनि कोभिड–१९ का संक्रमितको उपचार गर्न दिएको थियो ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?