नेकपाले बोलायो सचिवालय बैठक, यस्तो छ छलफलको विषय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।

सोमवार बिहान ९ बजे पछि पार्टी भित्रको आन्तरिक विवाद समाधानको लागि गठन गरिएको कार्यदलको विषयमा उठेका विवादबारे छलफल गर्न बैठक बोलाइएको नेकपा निकट स्रोतले बताएको छ ।

गत शुक्रवार प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आन्तरिक विवाद मिलाउनको लागि ६ सदस्यीय कार्यदल गठन गरेका थिए । पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको उक्त कार्यदलका विषयमा पार्टीभित्र आवश्यक छलफल नगरी कार्यदल गठन गरिएको भन्दै त्यस विषयमा छलफलका लागि सचिवालय बैठक डाकिएको स्रोतको भनाइ रहेको छ ।

कार्यदलमा पौडेलसहित शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल लगायत सदस्यहरु रहेका छन् ।
स्रोतका अनुसार विवाद समाधानको लागि गठित कार्यदललाई सचिवालय बैठक राखेर औपचारिकता र कार्यदेश दिन लागिएको हो ।

पार्टी अध्यक्ष प्रचण्डलाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफलका लागि सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?