खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खु शिवालयकी ६९ वर्षीया डम्बरकुमारी राईलाई वडा कार्यालयले सहारा दिएको छ । सन्तान नभएको र श्रीमान्को समेत मृत्यु भइसकेपछि बेसहारा जीवन बिताइरहनुभएकी राईको छाक टार्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको हो ।
हातगोडा चल्न छाडेको र खेतीपातीको काम गर्न नसक्ने अवस्थामा पुग्नुभएकी वृद्धाको खाने, बस्ने र औषधि उपचार गर्ने जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष विदुरमान राईले बताए। “कानसमेत सुन्न छाड्नुभएकी डम्बरकुमारी अहिले सानो झुपडीमा एक्लै बस्दै आउनुभएको छ”, उनले भने, “बूढौलीपनले छोएर हिँडडुलसमेत गर्न छाड्नुभएकी उनको हेरचाह गर्नुका साथै आवश्यक खाद्यान्न, दाल, नुन, तेललगायत घरैमा पुर्याई दिने व्यवस्था मिलाइएको हो ।”
विसं २००८ मा जन्मिएकी डम्बरकुमारीका श्रीमान्को पाँच वर्षअघि मृत्यु भएको छिमेकीले बताएका छन् । श्रीमान्को समेत मृत्यु भइसकेपछि सहाराविहीन बन्नुभएकी डम्बरकुमारीलाई बूढौलीपनले छुनुका साथै आफैँ काम गरेर जीवन निर्वाह गर्नसक्ने अवस्था नभएपछि वडा कार्यालयले सहारा दिएको हो । कान नसुन्नुका साथै हिँडडुल गर्न पनि नसक्ने अवस्थामा पुगेकी डम्बरकुमारीको करिब दुई रोपनी मात्र जग्गा छ । गत वर्षसम्म जेनतेन कुटो कोदालो गरेर खेतीपाती गर्दै आएकी डम्बरकुमारी यस वर्षदेखि घरभित्र बाहिर गर्नसमेत नसक्ने अवस्थामा पुगेकाले उनी बाँचुञ्जेलसम्म खाने, बस्नेका साथै औषधि उपचारको व्यवस्थाको जिम्मा लिइएको वडाध्यक्ष राईले बताए ।
फुसको छानो भएको झुप्रे घरमा बस्दै आएकी डम्बरकुमारीको घरलाई वडा कार्यालयले जस्ताको छाना हालिदिने तयारी गरेको छ । विद्युत्को पहुँचभन्दा टाढा रहनुभएकी डम्बरकुमारीलाई उज्यालोमा राख्न सोलारसमेत निःशुल्क वितरण गरिसकिएको वडाध्यक्ष राईले बताए।
यसअघि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ऐसेलुखर्ककी ८० वर्षीया एकल महिला हीरामाया राईलाई स्थानीय खामाखा खार्चुम समाजमा आबद्ध छिमेकी युवाले घर बनाइ दिएका थिए । लठ्ठीको सहारामा मात्र हिँडडुल गर्नसक्ने भूकम्पपीडित हीरामायाले नयाँ घर निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट अनुदान पाए पनि जनशक्ति अभावमा घर बनाउन नसकेर विचल्लीमा परेपछि समाजमा आबद्ध छिमेकी युवाले श्रमदान जुटाएर घर निर्माण गरिदिएका हुन् ।
भूकम्पले क्षति भएको घर पुनःनिर्माण गर्न प्राधिकरणबाट अनुदान लिए पनि जनशक्ति अभावमा घर निर्माणको काम गर्न नसकेपछि हीरामायालाई सहयोग गरिएको समाजका सचिव नवीन राईले बताए । “हीरामाया उमेरले आफैँ डाँडामाथिको घामजस्तै अवस्थामा पुग्नुभएक छ”, उनले भने, “बालबच्चासमेत नजन्माएकी सहाराविहीन हीरामायाले जस्तापाता खरिद गर्ने र आवश्यक काठपात तयार पार्नुभएपछि ओत लाग्ने ठाउँको व्यवस्था मिलाउन घर निर्माण गरिदिएका हौँ ।”
यसैबीच, पहिरोका कारण घर भत्किएपछि विचल्लीमा परेका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका मानबहादुर खत्रीको घर निर्माणका अभियान थालिएको छ । बालबच्चा नभएको र वृद्धावस्थामा पुगेका खत्री दम्पतीको घर पुनः निर्माण गर्नका लागि सहयोग सङ्कलन अभियान थालिएको हो ।
गत असार ३२ गतेको वर्षाका कारण घर भत्किएपछि घरविहीन बनेका वृद्धवृद्धाको घर निर्माण गर्न स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट रकम सङ्कलन शुरु भएको छ ।
अभियानअन्तर्गत हालसम्म एक लाख ५० हजार रकम सङ्कलन भइसकेको अभियान्ता थिरेन्द्र भट्टराईले जानकारी दिए ।
पहिरोले ढलेको घर ठड्याउन सक्ने अवस्था नभएका कारण खड्का दम्पतीको घर बनाउन सहयोग अभियान थालिएको अभियान्ता भट्टराईले बताए । हाल यूकेमा रहेकी इशा गुरुङले तिज मनाउने खर्च कटाएर वृद्धवृद्धाको घर बनाउन २० हजार रुपैयाँ सहयोग पठाएको जनाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया