साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा, ८ असोज ।तीन दिनदेखिको लगातार वर्षाका कारण आज बिहानदेखि साँफे–मार्तडी सडकखण्डअन्तर्गतको तिपाडामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।राजमार्ग अवरुद्धपछि छोटो तथा लामो दूरीका यातायातका साधन र मानिस आवतजावत गर्न नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।सडकको माथि रहेको सामुदायिक वनबाट आएको पहिरोले सडक अवरुद्ध भएका कारण यात्रु अलपत्र परेको निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिए ।भट्टले दिएको जानकारीअनुसार पहिरो पन्छाउन सडक निर्माणको जिम्मेवारी लिएको पी एस कन्स्ट्रक्सनको डोजरलाई आग्रह गरिएको छ । पहिरो बिहान ६ बजेतिर गएको प्रजिअ लुकबहादुर क्षेत्रीले बताए ।दशैँ मनाउन जिल्ला फर्कन थालेका लामो दूरीका यात्रु भने बीचबाटोमा अलपत्र परेका छन् । तीन महिनापछि सञ्चालनमा आएको साँफे–मार्तडी सडकखण्ड फेरि अवरुद्ध हुँदा जिल्लावासीले सास्ती खेप्नु परेको छ । सो सडकखण्ड पटक–पटकको सडक अवरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?