काठमाडौं । गुच्चा, डण्डीबियो, बाघचाल, कबड्डी, चुङ्गी, गट्टा, च्याम्पटी, सात–ढुङ्गा, घ्वाईं, इन्टुमिन्टुजस्ता हामीले खेलेर हुर्केका खेलहरू आज हराएर गएको पाउँदा तीक्त अनुभूति हुन्छ । आजको पिंढीका बालबालिकाहरू यस्ता आँगन–खेल (आउटडोर गेम) खेल्न छोडिसकेका छन् । यसअघिका बालकबालिकाहरू घरबाहिरका परम्परागत तथा सामुहिक खेलहरूमा स्वस्फूर्त रुचि राख्ने गर्थे । हुर्किने त्यस्तो प्राकृतिक वातावरण आज क्रमशः हराउँदै गएको स्पष्ट आभास हुन्छ ।
आजका बालबालिका र किशोर–किशोरी मोबाईल फोनमा सर्बसुलभ २३ वटा खेलमध्ये कुनै न कुनैमा एकोहोरिएका छन् । यिनमा अल्टोज अडिसे, एङ्ग्री बर्डस्, बल्ज्, बबल्स् विच सागा, क्यान्डी क्रश, कलर रोड, क्रसी रोड, फ्ल्यापी डङ्क, फोर्टनाईट, गार्डेनस्केप, ज्योमेट्री ड्याश, माइनक्राफ्ट लगायतका खेल छन् । कतिपय खेल जस्तो, ल्युमोसिटी, म्याथ वर्कआउट, आईडेटिक, आदि दिमागको दक्षता बढाउने खालका पनि मानिन्छ । तर यस्ता खेलमाभन्दा ध्वंसात्मक र हिंसात्मक किसिमका मोबाईल खेलमा बालबालिकाहरू एकोहोरिएका छन् । एकोहोरिएका मात्र होइन, नयाँ पुस्ताका होनहार सन्ततिहरू दुब्र्यसनी नै हुन थालेर लाखौँ आमाबाबुको चिन्ताको विषय बन्नपुगेका छन् ।
हामी कहाँ वयस्कहरूमा सामाजिक सञ्जालको प्रायः दुरुपयोग गर्ने र कयौं बाल्य वा किशोर पुस्ताकाहरू फस्न थालेको अवस्था छ । मोबाईल फोनमा मनोरन्जनका नाममा आनीबानी बिगार्ने, वौद्धिक तथा व्यक्तित्व विकास अवरुद्ध पार्ने र हिंस्रक मनोवृत्ति तथा असामाजिक स्वभावमा धकेल्ने उपरोक्त अनेकौं खेलहरू सहजै उपलब्ध हुन थालेपछि खासगरी बालबालिका वा किशोर वयका नयाँ पुस्तालाई यस्ता खेलको दुव्र्यसनी नै बनाउन थालेको छ । बालबालिकाको प्राकृतिक माहौलमा हुर्कने र त्यही अनुरुपको मनोविज्ञानको विकास हुनुपर्ने बेलामा ‘पब्जी’ जस्ता खेल, बाल मस्तिष्क बिगार्ने साधनको रुपमा विकृत उपभोग भईरहेको छ ।
यस्ता खेल उपर सरकारले अध्ययन, मूल्याङ्कन, नियन्त्रण, नियमन गरेर अभिभावकलाई सचेत गराएको पाईँदैन । स्थिति यतिसम्म खराब हुँदै गएको देखिन्छ, ‘पब्जी’ (प्लेयर अननोन ब्याटल ग्राउन्ड) जस्ता मोबाईल खेलमा मग्न भएको १०/८ वर्षको बालबालिकालाई त्यस्ता खेलमा नलाग्न र आफ्नो काममा लाग्न आमाबाबुले सल्लाह दिँदा अति क्रुद्ध हुन्छ । अति गरेपछि मोबाईल सेट नै खोसिदियो भने सम्झाउनै नसक्नेगरी रुवावासी र द्रोह गर्छ । यो आज धेरै घर–परिवारको पीडा भईरहेको छ । पब्जी खेलकै कारण धेरैवटा आपराधिक घटना भईसकेको, खेल्नेहरूमा मानसिक विकृति र डिप्रेसन बढाउनेसम्मका जोखिम बढ्दै गएका छन् । विद्यालयहरूले पनि अनिवार्य रुपमा आफ्ना बालबालिका (विद्यार्थी) लाई यस्ता खेलको खतरा र भविष्यमा भोग्नुपर्ने असरबारे बताएर होशियारी अपनाउन सचेत गराउनुपर्ने हो, जुन भईरहेको छैन ।
पहिले ‘पोकेमोन गो’ खेल हिंसात्मक मानसिकता, आक्रामक, हठी र सृजनात्मक कार्यमा मन नलाग्ने जस्ता मानवीय खराबीको कारक भएपछि प्रतिबन्ध लगाउनु परेको थियो । पब्जी त्यस्तै खराबीको स्रोत भइरहेको छ । यसबाट के शहर, के गाउँ, सर्वत्र कुलतले ढाकिसकेको छ । दुव्र्यसन र कुलतकै कारण अपराधहरू बढिरहेका छन् । कार्यसम्पादनमा ह्रास आउनु यस खेलको ज्वलन्त समस्या हो । मानसिक र दिमागी क्षमतामा समेत गम्भीर प्रभाव देखापर्दै छन् । कतिसम्म भने बालबालिका वा किशोरकिशोरीको सुत्ने तरिका, निद्रा र सपना पनि विथोलिन थालेको, अध्ययनहरूले देखाएका छन् । बालबालिकामा आक्रामक र छिटै रिसाईहाल्ने स्वभाव बढ्दैजानुमा पब्जी लगायतका खेल स्रोत बनेको पाईन्छ ।
इन्टरनेटसँग जोडिएका कार्यक्रमहरू, न आफैँमा खराब हुन् न त असल नै । चलाउनेको स्वभाव र रुचिमा पनि भर पर्दछ । मोबाईल खेलहरू पनि आफैँमा पूर्णखराब मान्न नसकिएला । कुलतमा नफसीकन दिनको एकै छिनमात्र खेलेमा, समस्या समाधान गर्ने शिप वा ध्यान केन्द्रित गर्ने बानीको विकास गर्न पनि सहायक हुँदो हो । तर यसप्रति बालबालिका वा किशारकिशोरीबाट हुने दुव्र्यसन (कुलत) सर्वनासी नै हुँदै गएको छ । सन् २०१८ देखि विश्वस्वास्थ्य संगठन (डब्ल्युएचओ) ले यस्ता खेललाई स्वास्थ्य समस्याका कारकको रुपमा मान्न थालेको छ । अब चाँडै नै नेपाल पनि यस्ता खेल, दुब्र्यसनी तथा अनुत्पादक जनसमुदाय फैलाएर मुलुकको बोझका रुपमा ब्यहोर्नुपर्ने जोखिमबाट गुज्रिरहेको छ ।
सबभन्दा बढी चल्तीमा भएको घातक ‘पब्जी’ खेलका दुष्परिणामहरू लाखौं अभिभावकहरूले अनुभव गर्नुभएको हुनुपर्छ । पुस्तक पढ्न वा लामो लेख्न आदि सिर्जनशील कार्यमा मनै नलाग्ने, कक्षामा बसेको बेलामा पनि पब्जी जस्ता खेलमा नै ध्यान गईरहने, खाने बेलामा पनि खानेकुरातिर ध्यान नदिएर मोबाईलकै स्क्रिनमा मग्न हुने, घरबाहिरका शारीरिक खेलमा रुचि नलाग्ने हुन थालेको छ ।
बढ्दो उमेरका सन्ततीमा मोटोपन, शारीरिक स्वास्थ्य समस्या, आफन्तसँग बोल्न, हेलमेल तथा सम्बन्ध बनाउन, जीवन–जगतलाई हेर्न, चिन्तन र सिर्जना गर्नमा भन्दा मौका मिल्नासाथ पब्जी खालका खेलमा लागिहाल्ने, बालबालिका वा किशोरकिशोरीको स्वभाव, ब्यवहार, मनोविज्ञान, चालचलनमा एकदमै नकारात्मक प्रभाव देखापर्न थालेको र यस्तो प्रवृत्ति अति नै बढ्दै गएकोले विश्वका जिम्मेवार सरकारहरू गम्भीर भएर सोच्न थालेका छन् । यो अब नेपाल सरकारको लागि पनि चिन्ता र समाधानको विषय हुनुपर्छ ।
एकपटक नेपाल प्रहरीले पब्जी खेललाई प्रतिबन्ध लगाउने प्रयास गरेको थियो । यससम्बन्धी प्रचार–प्रसार गरेर जनसमुदायलाई सचेत गराउने प्रयास पनि गरेको थियो । तर अदालतले त्यो प्रयासलाई किन रोक्यो, कारण अस्पष्ट छ । लोप नै हुनलागेका परम्परागत खेलहरूलाई पुनःप्रचलनमा ल्याउनुपर्ने र त्यसको लागि बहस चलाउनुपर्ने आवश्यकता सँगसँगै बढेको छ । मोबाईल फोनको सेवा र सुविधा विस्तारसँगै व्यावसायिक जीवनमा दक्षता र सहजता थपिएको सत्य हो भने यसको रंगीन तथा मनोरञ्जनात्मक पक्षबारे मौका छँदै सोचविचार पु¥याउनुपर्ने उति नै जरुरी भईसकेको छ ।
भावी नेपालका जिम्मेवार नागरिक तयार गर्न आजका बालक वा किशोर पुस्तालाई कसरी हुर्काउने भन्ने गम्भीर सवाल र चुनौतीका रुपमा लिनु जरुरी छ । समय छँदै होसियारी अपनाएर पब्जी र त्यस्तै खेलहरूलाई देशभरि प्रतिबन्ध लगाईएन भने वर्तमान पुस्ता पंगु, अनुत्पादक र बोझ सावित हुन अब बेर लाग्ने छैन । हाललाई पब्जीजस्ता खेलहरूलाई पूरै प्रतिबन्ध लगाउन नसके पनि दिनमा एकपटक सीमित समयका लागि खोलिदिने र बन्द गर्ने चलन बसालियो भने खराब हुन थालेको सामाजिक स्थिति र मानिसका स्वभावमा धेरै नै सकारात्मक सुधार हुनपाउँछ । भयावह बन्दैगएको पब्जी खेलको समस्यामा सरकारले नियन्त्रण गर्न सकेमा लाखौं परिवार तथा अभिभावकमा असाधारण हर्ष छाउने थियो । सरकार, विद्यालय, अभिभावक र स्थानीय समाजको एकीकृत र समन्वयात्मक प्रयास जुटेमा यो समस्या हल भएर जाने निश्चित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया