खलङ्गा-खार-देथला सडकखण्ड दुईतर्फी अवरुद्ध, स्थानीयलाई हिँडडुलमै समस्या

दार्चुला । दार्चुलाको खार–खलङ्गा–देथला सडक तीन सातादेखि अवरुद्ध छ । खलङ्गा–खार–देथला सडकखण्ड र गोकुलेश्वर–देथला हुँदै खार–खलङ्गा जोड्ने सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएको हो । दुबैतर्फ सडक अवरुद्ध हुँदा नौगाड गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।

यही साउन ५ गते आएको बाढी पहिरोका कारण खार–खलङ्गा–देथला सडक अवरुद्ध भएको हो । सडकमा ग्राभेल गर्ने बेला बाढी पहिरोले अवरुद्ध गरेसँगै निर्माणको कार्य पनि ठप्प छ । प्रदेशको भौतिक पूर्वाधार कार्यालयअन्तर्गगत पूर्वाधार विकास कार्यालय बैतडीले यो सडक हेर्ने गर्छ ।

सडकको दुवैतर्फ कालोपत्रे र ग्राभेलका लागि गत आर्थिक वर्षको अन्तिममा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौतापछि ठेकेदार परिचालन हुने बित्तिकै बाढी पहिरो आएपछि यो सडकखण्ड तीन सातादेखि अवरुद्ध छ । अवरुद्ध सडकखण्ड खुलाउने प्रयास नहुँदा नौगाडका स्थानीयवासीलाई आवतजावत र खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।

खलङ्गा–खार सडकखण्डको मालभेला, डुङुरी, काटैलगायतका आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको पूर्वाधार विकास कार्यालय बैतडीका सव इन्जिनीयर दीपेन्द्र धानुकले बताए । “अवरुद्ध सडकको सर्वेक्षण गरेका छौँ,” उनले भने, “छिट्टै बाटो खुलाउने प्रयास हुन्छ । सडक पूर्णरूपमा सञ्चालन गर्न भने केही समय लाग्छ ।”
उनका अनुसार भत्किएको सडकखण्डको मूल्याङ्कन भइसकेको छ । “कार्यालयमा पेश गर्ने तयारी छ । कुनै ठाउँमा पर्खाल लगाउनुपर्ने र थप ब्याक कटिङ गर्नुपर्ने अवस्था देखिन्छ ।” धेरै ठाउँमा पर्खाल लगाएर पनि बाटो सञ्चालन गर्नुपर्ने अवस्था देखिएको धानुकले बताए ।

काटैभन्दा माथिल्लो क्षेत्रमा सडकमा कम क्षति पुगेको छ । खलङ्गा–खार सडकखण्डको झण्डै नौ किलोमिटर क्षेत्रमा ठेक्का सम्झौता भएर काम शुरु भएको अवस्थामा अवरुद्ध भएको हो । यो सडकखण्डमा ग्वालेक निर्माण सेवाले १८ करोड रुपैयाँमा कालोपत्रको ठेक्का पाएको छ ।

यस्तै देथला हुँदै खार–खलङ्गा जोड्ने गरी कालोपत्रे भइरहेको छ । देथलादेखि माथिल्लो क्षेत्रमा छ किलोमिटर कालोपत्र भइसकेको अवस्थामा यो क्षेत्र पनि ठाउँठाउँमा खहरे खोला र पहिराले सडक अवरुद्ध भएको सव इन्जिनीयर धानुक बताउँछिन् । “दुबैतर्फ सडक खुलाउन तत्काल प्रक्रिया अघि बढाउँछौँ”, उनले भने । सडक नहुँदा नौगाडमा भाडादर महँगो हुँदै जाँदा खाद्यान्नको मूल्यसमेत चर्को हुन थालेको छ ।

खलङ्गा–खार सडकखण्डको काटैसम्म बढी अवरुद्ध छ । उता नौगाड गाउँपालिकाको धुलीगडा, जामिर, खार, दल्लेख क्षेत्रमा सडक बढी अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम भएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताए ।

अहिले सडक दुवैतर्फ अवरुद्ध छ । सडक नहुँदा अहिले पूरै नौगाडबासीलाई हिँडडुलमा समस्या भएको अध्यक्ष धामीको भनाइ छ । यो सडक प्रदेशको भौतिक मन्त्रालयले हेर्दै आएको छ । स्थानीय तहले खनेका सडक पनि अवरुद्ध भएकाले खुलाउने प्रयास भइरहेको अध्यक्ष धामीले बताए ।

उता देथला–खार–खलङ्गा सडक निर्माण सम्पन्न नहुँदै जीर्ण बन्दै गएको छ । जीरो प्वाइन्ट मानिने कर्कलेभन्दा माथि देथला र सुन्दरपुर खण्डको दुई मिलोमिटर सड्कमा खहरे खोला बग्न थालेपछि यो सडकखण्ड जीर्ण बन्दै गएको हो । यो सडकखण्डका चार/पाँच वटा खहरे खोला सडकमै बग्दा जोखिमसमेत बढेको स्थानीयवासी बताउँछन् ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा कालोपत्रे उप्किन, भत्किन र खहरे खोला सडकखण्डको बीचबीचमा बग्न थाले पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । सडक कटानले ठाउँठाउँमा पहिरोको जोखिम पनि बढ्दै गएको छ ।

दार्चुला सदरमुकाम खलङ्गालाई जोड्ने सबैभन्दा छोटो सडकको रूपमा देथला–खार–खलङ्गा सडक निर्माण शुरु गरिएको हो । यो सडक ग्वाल्लेक बज्रगुरु जेभीले निर्माणको जिम्मा पाएको छ । शैल्यशिखर नगरपालिका–३ कर्कलेदेखि निर्माण शुरु गरिएको कालोपत्रे सडकखण्डको अति आश्वयक खण्डमा समेत पर्खाल निर्माण नगरेको, आरसीसी ढलान नगरेको, निर्माण सामग्री कमसल प्रयोग गरेकोलगायतका आरोप स्थानीयबासिन्दाले लगाएका छन् ।

ग्वाल्लेक बज्रगुरुले निर्माण गर्ने जिम्मा पाएको छ किलोमिटर लामो सडकमा खहरे खोलाको निकास व्यवस्थापन नगरिँदा खोलाको पानी कालोपत्रे मार्ग भएर बग्न थालेको छ । गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएका हुनाले नवनिर्मित सडकखण्ड यो अवस्थामा पुगेको स्थानीय हिक्मत चन्दले बताए । स्थानीयवासीले कमसल सामग्री प्रयोग गरेर सडक निर्माण गरिएको बारेमा पटकपटक विरोध गरिसकेका छन् । सम्बन्धित कार्यालयका प्रविधिकहरु पनि सुटुक्क आउनेजाने गरेकाले सबैमाथि शङ्का उब्जेको चन्दले बताए।

निर्माण कम्पनीका साइट इन्जिनीयर रामप्रसाद भुषालले योजनाको ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । कतिपय ठाउँमा गर्नुपर्ने कार्य नसकेको उनले बताए । उनले भने, “हामीले पाएको परिमाणसबै सिद्धियो । इस्टिमेटमा भएको परिमाणभित्र रहेर मात्र कम्पनीले काम गर्ने हो ।” केही ठाउँमा आरसीसी र पर्खाल निर्माण गर्ने कार्य मात्र बाँकी रहेको भुषालले बताए ।

पूर्वाधार विकास कार्यालयले भने नियमित नाली सफा गर्न नमिलेकाले सडकमा पानी पसेको जनाएको छ । पानीले कालोपत्रेलाई क्षति पुर्याएको छ । कतिपय ठाउँमा नाली निर्माण नगरिएकाले यस्तो अवस्था सिर्जना भएको हो । बिग्रिएको र टुटफुट भएको सडकखण्ड पुनः निर्माण गर्न लगाउने धानुक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?