पार्टी फुटाएर गए ‘वामदेव’ होइन्छ भन्ने निश्कर्षमा पुगे ओली

सत्तारुढ नेकपा ‘फुट्ने भयो’ वा ‘फुटिदिए हुन्थ्यो’ भनेर धुप बाल्नेहरुलाई निराश बनाउने खबर छ– जस्तोसुकै शक्तिको प्रयोग गरे पनि पार्टी फुटाउन झन् गाह्रो छ । जो फुट्छ, उही सकिन्छ भन्ने कुरा नेताहरुले ढिलो गरी बल्ल बुझ्न थालेका छन् ।
त्यही भएर बहुमत प्रयोग गरी घुँडा टेकाई छाड्ने पार्टी नेताहरुको अडानमाथि जवाफ दिँदा ‘म पार्टी फुटाउँछु’ भन्ने केपी ओली अहिले फुटको ‘फ’ पनि उच्चारण गरिरहेका छैनन् ।

बहुमतका लागि फुट चाहिने कुरा पनि भएन । शुरुमा जसरी पनि फुटाउने र बल आफ्नो मुठ्ठीमा राख्ने योजनाअनुसार महेश बस्नेतनिकटस्थ केही आलाकाँचा मानिसलाई ‘एमाले’ नामक नयाँ दल दर्ता गर्न पठाइएकै हो । नेकपाका सचिवालय नेताहरु अहिले आशंका गर्दैैछन्– विभाजित दलको अध्यक्ष वामदेवलाई बनाएर केपी सर्वोच्च नेतामा बस्न चाहेका थिए । तर, आफूलाई ‘मोहरा’ बनाउनमात्रै खोजिएको बुझेपछि सचिवालय बैठकमा वामदेवले पार्टी विभाजनबारे ‘मसँग प्रमाण छ’ भनिदिए ।

केपीले पार्टीको नाम ‘एमाले’ नै राखेपछि माओवादीका लागि ढोका बन्द भयो भनेर बुझ्दा हुन्छ किनकि एमाले र जबज भन्नासाथ पूर्व माओवादी अध्यादेशको कारण मधेशी दलहरु जुटेझै एक ठाउँमा उभिन पुग्छन् । निर्वाचन आयोगको अभिलेखमा नेकपा नयाँ राजनीतिक दल हो । निर्वाचन कानुनअनुसार नयाँ दल गठन भएको कम्तिमा पाँच वर्षसम्म विभाजित हुन सक्दैन । यदि फुट भएछ नै भने पनि निश्चित समूह चोइटिएर जानुपर्ने हुन्छ । यसरी सबै माहौल हेर्दै जाँदा फुट्न सकिँदैन, फुटिएछ भने पनि वामदेव होइन्छ भन्ने निश्कर्षमा पुगेपछि बालुवाटार फुटबारे बोलिरहेको छैन । त्यसपछि नै हो, वामदेवलाई सके आफूतिर ल्याउने, नसके बीचमा राखेर भए पनि आफ्नो पोजिसन बलियो देखाउने रणनीति बनेको ।

केपी ओलीसँग कुरा गरेर पार नलाग्ने भएपछि प्रचण्डले सुवास नेम्वाङलाई पठाउन भनेअनुसार सुवास खुमलटार पुगे । तर, प्रचण्डले ‘मसँग कुनै निकास छैन । मैले दिएको निकास काम पनि नलाग्ला’ भन्दै बालुवाटारबाटै निकास लिएर आउन भनेका छन् ।

र, यसबीच विधान पल्टाउने, व्याख्या गर्ने क्रम पनि तीव्र भएको छ । गत बुधबार थापागाउँस्थित प्रेसिडेन्ट कलेजमा वरिष्ठ नेता माधव नेपालले विधानका धारा–धारा पल्टाउँदै विधि र पद्धतिको कुरा गरे । जनआस्थामा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?