कोरोना संक्रमण रोक्न तीन तहका सरकारबीच समन्वय हुनुपर्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोभिड–१९ संक्रमण नियन्त्रणमा तीन तहका सरकारबीच आवश्यक समन्वय हुनुपर्ने बताएका छन् । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप चाल्नुपर्ने कदमका बारेमा सरोकारपक्षसँग आज भएको भर्चुअल बैठकमा उहाँले आगामी दिनमा सुझावका आधारमा थप समन्वय र सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा सहभागी प्रदेशका मन्त्रीसहित स्वास्थ्यविज्ञ, कोरोना बढी सङ्क्रमण देखिएको जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी र उद्योगी व्यवसायीले आवश्यकता, समन्वय र ठाउँअनुसार मात्र बन्दाबन्दी लागु गर्नुपर्ने सुझाव दिएका थिए । झापा, मोरङ्ग, सुनसरी, उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

यसैगरी उद्योगी व्यवसायीले निजी अस्पताल र होटललाई पनि आइसोलेशन बनाउन सुझाव दिएका थिए । यस्तै स्वास्थ्यविज्ञले अस्पतालबीच समन्वय गर्नुपर्नेमा जोड दिँदै दीर्घरोगीको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने लगायत सुझाव दिएका थिए ।सुरक्षा निकायका प्रमुखले भने सीमा सुरक्षालगायतबारे जानकारी गराएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?