नेपाल बैँकद्वारा कोरोना रोकथाम कोषमा साढे तीन करोड

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जम्मा भएको ३ करोड ४६ लाख रकमको चेक नेपाल सरकारको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोष हस्तान्तरण गरेको छ ।

अर्थमन्त्री डा।युवराज खतिवडालाई सो बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले आज उक्त चेक हस्तान्तरण गरे । बैँकले हरेक वर्ष आफ्नो मुनाफाको एक प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गदैँ आएको थियो ।

देशभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नेपाल सरकारले चालेका कदममा साथ दिन र मौद्रिक नीति, २०७७/७८ मा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा उक्त रकम हस्तान्तरण गरिएको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

कार्यक्रममा मन्त्री डा खतिवडाले कोरोना रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा बैंकले गरेको सहयोगका लागि धन्यवाद दिए । बैँकका अध्यक्ष अधिकारीले सरकारले चालेका कदममा बैंकको सदैव साथ रहने बताए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?