इन्टरनेट नचल्ने ठाउँमा लाखौं खर्च गरेर बनाइएको मोबाइल एप्लिकेसन गायब !

सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले लाखौं खर्च गरेर बनाएको मोबाइल एप्लिकेसन गायब बनेको छ । नगरपालिकाले २ वर्षअघि बनाएको मोबाइल एप्लिकेसन अहिले गुगल प्ले स्टोरमा खोज्दासमेत नभेटिएको पाइएको हो ।

नगरपालिकाले सुचना प्रविधिको प्रयो गर्दै शुसासन कायम गरि जनतालाइ नगरपालिकाका सम्पूर्ण गतिविधि जानकारी दिन एप्स बनाइएको बताएको थियो ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका सबै स्थानमा मोबाइल नेटवर्कलेसमेत राम्रोसँग काम गर्दैन । इन्टरनेट प्रयोग गर्नेहरूको संख्या कम भएको स्थानीय तहमा मोबाइल एप्लिकेसन फोकटमा खर्च गरेको गुनासो सरोकारवालाले गर्दै आएका थिए । तर अहिले त्यो मोबाइल एप्लिकेसन नै गायब भएको पाइएको हो । त्यसो त मोबाइल एप्लिकेसन निर्माण भएको लामो समयसम्म मनलाग्दो ढंगले अपडेट नभएको एक स्थानीयले बताए ।

नगरपालिकाका लेखा शाखाका कर्मचारी राजेन्द्रप्रसाद रिजालले दिएको सुचनाअनुसार नगरपालिकाले २०७५ असार १३ गते हिमालय होस्ट प्रालीसंग उक्त एप्लिकेसन निर्माण सम्झौता गरेको थियो । मोबाइल एप्लिकेसनको लागत २ लाख रहेको उनले बताए ।

नगरपालिकाका सुचना प्रविधि अधिकृत मनोज लम्सालले उक्त एप्लिकेसन नगरपालिकाले नविकरण नगरेको बताए । ‘यस वर्षदेखि संघले वेवसाइटमै लिंक गरेर एप्लिकेसन दिने भनेकाले हामिले रिन्यु नगरेका हौं ।’ उनले भने ।

नगरपालिकाले चालु आर्थिक वर्षको वजेट ल्याएको डेढ महिना बितिसक्दा पनि उक्त बजेट वेवसाइटमा राखेको छैन । नगरपालिकामा वेवसाइट अपडेट गर्न सुचना प्रविधि अधिकृत भएपवि वेवसाइट सन्तोषजनक तरिकाले अपडेट नभएको एक स्थानीयले गुनासो गरे । ‘नगरका सुचना र सबै जानकारी वेवसाइटमा आउनुपर्ने हो । वेवसाइटमै आउँदैनन् ।’ उनले भने, ‘एक त यहाँ मोबाइल एप्लिकेसन बाट नगरका गतिविधि हेर्न इन्टरनेट चल्दैन । अर्को कुरा वेवसाइट अपडेट नहुने ठाउँमा मोबाइल एप्लिकेसनमा किन फोकटमा खर्च गरेहोलान् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?