गोंगबु हत्या प्रकरण : यस्तो छ गेस्टहाउस सञ्चालकको बयान

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो ।
मृतक कृष्णबहादुर बोहरा गेस्ट हाउसमा बस्दै आएका थिए भने हत्याको रात गेस्टहाउसबाट बाहिर निस्किएका थिए भने हत्यामा संलग्न युवतीलाई प्रहरीले चितवनबाट पक्राउ गरिसकेको छ । राजधानी दैनिकमा खबर छ ।
फोटो देखेपछि चिन्यौं
–गेस्ट हाउस सञ्चालक

बोहोरा दाइ मंसिरदेखि हाम्रो गेस्ट हाउसमा बस्दै आउनुभएको हो । उहाँ एक्लै नै बस्नुहुन्थ्यो । उहाँले भनेअनुसार सोह्रखुट्टेमा गार्मेन्टमा काम गर्ने र ज्याकेट र रेनकोटको मार्केटिङको काम गर्ने भन्ने सुनेका थियौं । दुई साताअघि ५० लाख खाएर भागेको मान्छे फेला पारें, केही दिन नआउन पनि सक्छु, नडराउनुहोला, फोन पनि नलाग्न सक्छ भन्नुभएको थियो । रुमको भाडा दिन बाँकी भएर त्यसो भनेको होला जस्तो लाग्यो । उहाँले भनेअनुसार पैसा खाएर भाग्ने मान्छे महिला हो भन्ने लाग्छ ।

गएको शनिबार बिहानै कपडा धोई सुकाएर नुहाइधुवाइ गरेर बस्नुभएको थियो । त्यही दिन बेलुका करिब ३÷४ बजेतिर स्कुटर लिएर निस्कनुभएको हो ।

त्यसपछि सोमबार बिहानै एक जनाले ‘चिन्नुहुन्छ यो मान्छे’ भनेर फोटो देखाए । आफ्नै गेस्ट हाउसमा बस्ने मान्छे नचिन्ने कुरै थिएन । फोटो देखेपछि चिन्यौं र हामी झस्याङ्ङ भयौं । आइतबार सुटकेसमा उहाँको नै शव भेटिएको भन्दा खल्लो लाग्यो । सोमबार प्रहरीहरू आएर उहाँ बसेको रुम हेर्नुभयो । नागरिकता पनि रहेछ । अनि उहाँको पहिचान खुलेको थाहा पायौं । धेरै समय भयो, हाम्रो गेस्ट हाउसमा बसेको । त्यसकारण पनि हत्या भएको भनेर पत्याउनै सकिरहेको छैन । हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?