आज श्रीकृष्ण जन्माष्टमी !

काठमाडौं । श्री मद्भगवद् गीतामा कृष्णले अर्जुनलाई भनेका छन् ।
“यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत ।
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम् ।।
अर्थात
“जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ ,
तब तब धर्मको रक्षाका लागि म स्वयम् यस धर्तीमा नयाँ अवतार लिएर आउनेछु । आज भाद्र कृष्ण अष्टमी अर्थात उनै श्रीकृष्ण भगवानको जन्म दिन हो ।

ज्ञानयोग,ध्यानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

स्कन्दपुराणमा भनिएको छ –जुन मानिसले जानेर बुझेर पनि कृष्णजन्मअष्टमी व्रत गर्दैनन् ती अर्को जन्ममा सर्प वा बाघ भएर जन्मन्छन् । भविश्यपुराणमा भनिएकाछ–जसले श्रावणमासमा कृष्णजन्मअष्टमी व्रत गर्दैनन् अर्को जन्ममा डरलाग्दो राक्षसको रुपमा पैदा हुन्छ ।

मदनरत्नमा स्कन्दपुराणको वचन उद्धृत गर्दै बताईएको छ – जुन उत्तम पुरुषले जन्माष्टमीव्रत गर्दछन् र अरुलाई पनि गर्न लगाउछन् तिनिहरु स्तिरलक्ष्मीले सम्पन्न हुन्छन् । जन्माष्टमी गरेपछि साधकका सबै कार्य सिद्ध हुन्छन् ।

जयन्ती व्रत नित्य र काम्य पनि हो । स्कन्दपुराणमा भनिएको छ महाजय र मुक्ति प्राप्त गर्ने उदेश्यले जयन्तीव्रत गर्नुपर्दछ । यसबाट धर्म,अर्थ,काम एंब मोक्षको प्राप्तिको लागि साथै व्रतालु सबै मनोरथ र दुर्लभ कार्य पूर्ण हुन्छन् । जयन्ती व्रत नगर्ने मानिसको यत्रतत्र निन्दा पनि सुनिन्छ । जस्तै जुन मानिस धर्मविमुख भई जयन्तीव्रत गर्न प्रवृत हुदैनन् ,तिनले शुद्रान्नभोजनको पाप र शवहस्तभोजनको पाप व्यहोर्नुपर्दछ । जसले श्रीकृष्णको जन्माष्टमीतिथिमा पर्न आउने जयन्ती योगमा व्रत गर्दैन त्यो यमराजको वसमा पर्दछ र नारकीय कष्टभोग गर्न बाध्य हुन्छ । जव पहिलो र दोस्रो दिन अष्टमी र रोहिणीको योग हुन्छ त्यसबेला जन्माष्टमी जयन्तीभित्र पर्दछ र जयन्तीव्रत गर्दा जन्माष्टमीको व्रत पनि हुनजान्छ । विष्णुश्रृङखलामा झैँ छुट्टै जन्माष्टमी व्रत गर्नुपर्दैन ।

अर्को अर्थमा राक्षस तथ दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।

कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो ।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो ।

आजको दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?