उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्न आग्रह

काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा संक्रमणको दर बढिरहेको उल्लेख गर्दै फोरमले नाकामा कडाई गर्न सरकारलाई आग्रह गरेको हो । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई लाई भेटेर फोरमले नाकामा कडाई गर्न, अनाधिकृत रुपमा प्रवेश गर्ने र गराउनेलाई कारवाही गर्न आग्रह गरेको हो । फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले लकडाउन खुकुलो भएपछि संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै चाहिने भन्दा बढी मान्छेहरु भित्रिएकोले विगतमा जस्तै नाकाहरुमा कडाई गर्नुपर्ने बताए । फोरमले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ताका लागि नयाँ नाम दर्ता र नविकरण गर्ने मिति साउन मसान्तसम्म रहेकोमा त्यसलाई बढाउन पनि आग्रह गरिएको उनले बताए ।

मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तेस्रो मुलुकबाट आउनेहरुका लागि संघिय सरकारले एकिृत रुपमा क्वारन्टाइन व्यवस्थापन गर्नुपर्ने बताए । समुदायस्तरमा कोरोना फैलिएकोले जात्रा पर्वहरु स्थगित गरिएजस्तै सरकारको पक्ष वा विपक्षमा हुने जुलुस, अनसन जस्ता कुराहरु प्रतिवन्ध गर्नुपर्ने माग गरिएको उनले बताए । मास्क नलगाउनेलाई कारवाही गर्नुपर्ने, पीसीआर परीक्षणको सट्टा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा खर्च गर्ने र गुणस्तरिय क्वारेन्टिन व्यवथापनका लागि ध्यान दिनुपर्ने सुझाव सीसीएमसीलाई दिइएको उनले बताए ।

फोरमले सार्वजनिक यातायात निषेध गरी नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गर्न पनि सरकारलाई आग्रह गरेको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले फोरमले दिएका सुझावहरुलाई सीसीएमसीमा निर्णय गरेर अगाडी बढाउने प्रतिवद्धता जनाएका छन् । सरकारले लकडाउन खुकुलो गरेपछि अहिले उपत्यका भित्रिको संख्या बढिरहेको छ । पछिल्लो केही दिनयता उपत्यकामा संक्रमितको संख्या पनि बढिरहेको छ । स्थानीय तहको अनुमति विना उपत्यका प्रवेश निषेध गरिएपनि नागरिकहरु लुकिछिपी उपत्यका भित्रिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?