जोखिम बढेको अवस्थामा ‘वर्क फ्रम होम’को व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । कोरोना महामारीकाबीच सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थालाई जोखिम न्यूनिकरण गरि कामकारबाही सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

पछिल्ला दिनहरुमा कोरोना जोखिम बढ्दै गएको अवस्थामा राष्ट्र बैंकले थप सुरक्षा सतर्कतासहित बैंक तथा वित्तीय संस्थाहरूलाई बिजनेस कन्टिन्युटी प्लान बनाउन निर्देशन दिएको हो ।

आइतवार एक सूचना जारी गर्दै राष्ट्र बैंकले कोरोना भाइरसको त्रास बढेको भन्दै आलोपालो प्रणालीमा बैंकिङ सेवा दिन निर्देशन दिएको हो ।

कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले गरेको निषधाज्ञा, सार्वजनिक सवारी साधनमा गरिएको जोर विजोर प्रणालीका कारण कर्मचारीले घरबाट नै काम गर्न मिल्ने होम फ्रम होमको व्यवस्था गर्न सकिने सूचनामा भनिएको छ ।

साथै बैंक तथा वित्तीय संस्थाहरुलाई सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर बैंकिङ सेवा प्रवाहलाई निरन्तरता दिन सुझाएको छ । त्यस्तै विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न निर्देशन दिएको छ ।

त्यस्तै प्रादेशिक शाखाहरु न्यूनतम कर्मचारीबाट सेवा संचालन गर्ने वा वैकल्पिक रुपमा संचालन गर्न सकिने शाखा पनि आलोपालो संचालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा संक्रमणलाई न्यूनीकरण गर्न सुरक्षाका सबै उपायहरु अपनाउन पनि अनिवार्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?