हावाहुरीबाट मकैका बोट सोत्तर

पाँचथर । तीन दिन निरन्तर चलेको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा क्षति पुगेको छ । यही साउन १८ देखि २१ गतेसम्म निरन्तर हावाहुरी चलेको थियो । वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएका हुन् ।

हावाहुरीबाट फालेलुङको वडा नं ३, ४, ५ र ६ को ठूलो क्षेत्र तथा वडा नं २ र ७ का केही स्थानमा लगाइएको मकैमा क्षति पुगेको हो । गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङका अनुसार गत २१ गते आएको हावाहुरीले सबैभन्दा बढी क्षति पुर्याएको हो । “तीन दिन निरन्तर हावा चल्दा कलिलो मकै केही बाँकी राखेन”, उनले भने, “मकैका बोट कि भाँचिएका छन् कि त सोत्तर भएर लडेका छन् ।” हावाहुरीले फालेलुङ–४ का महभिर, गैरीगाउँ, भैँसे, चेम्फुवा, खुर्बुक, चित्रे, फोक्टे, लाफे, तालखर्कलगायत टोल तथा वडा नं ५ का खेदोक, लुहुदिनलगायत टोलमा लगाइएको मकैखेतीमा अत्यधिक क्षति पु¥याएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले प्राविधिक र सुरक्षाकर्मीसमेत लिएर अनुगमन थालेको उनले बताए ।

हावाहुरीबाट अत्यधिक क्षति पुगेको फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनका अनुसार जुँगा च्याप्ने तथा घोगो लगाउने अवस्थाका मकै भाचिँदा ठूलो क्षति पुगेको हो । यहाँको उच्च पहाडी क्षेत्रमा असोज, कात्तिक महिनामा मात्रै मकै पाक्दछ । “सधैँ पनि हावाहुरीले सामान्य क्षति पुयाँउँथ्यो”, उनले भने, “यस वर्ष निरन्तर वर्षा भयो । वर्षा रोकिनासाथ तीन दिनसम्म हावाहुरी चल्दा मकै भाचिँएर, लडेर कामै नलाग्ने अवस्थामा पुग्यो ।” ती वडामा मात्रै झण्डै ४०० परिवारको मकैखेतीमा क्षति पुगेको जनाइएको छ ।

“सबैभन्दा लेकमा बढी क्षति भएको छ । वडा नं ४, ५ र ६ मा बढी क्षति पुगेको छ”, वडाध्यक्ष सावदेनले भने, “हामीले क्षतिको यथार्थ विवरण सङ्कलन गरिरहेका छौँ ।” गाउँपालिकाभरिमा करिब एक हजार २०० परिवारको मकैखेतीमा हावाहुरीले क्षति पुर्याएको अनुमान गरिएको उनको भनाइ छ । उच्च पहाडी क्षेत्रमा खाद्य बालीमध्ये आलुपछि मकै जीविकोपार्जनको मुख्य स्रोत हो । तर फल्न लागेको मकै हावाहुरीले सखाप पारेपछि किसान निराश बनेका छन् । “केही न केही राहत दिनुपर्यो भन्ने किसानको माग छ”, उनले भने, “गाउँपालिकाको स्रोतले मात्रै राहत दिन सकिने अवस्था छैन ।”

गाउँपालिका अध्यक्ष केरुङ किसानले राहत माग्न थालेको बताउँछन् । “लेकमा न धान, कोदो फल्छ न अरु अन्न बाली नै”, उनले भने, “भएको मकैमा पनि क्षति पुगेपछि किसानलाई समस्या पर्ने नै भयो ।” हावाहुरीबाट मकैखेतीमा पुगेको क्षतिको विवरण सङ्कलनको काम जारी रहेको जनाउँदै गाउँपालिका अध्यक्ष केरुङले राहतका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिने जानकारी दिए । उच्च पहाडी क्षेत्रमा माघ तथा फागुन महिनामा मकै रोप्ने गरिन्छ भने उक्त मकै असोज र कात्तिकमा मात्रै पाक्दछ । यहाँ ग्रामीण क्षेत्रमा मकै अत्यधिक खपत हुने गर्दछ । स्थानीयस्तरमा उत्पादित मकै खानाका साथै स्थानीय मदिरा उत्पादनमा समेत प्रयोग गर्ने गरिन्छ । पछिल्लो समय व्यवसायिक पशुपालन गर्ने किसानले पशुको आहाराको रूपमा समेत मकैको प्रयोग बढाउँदै लगेका छन् । हावाहुरीले मकैखेतीमा ठूलो क्षति पु¥याएपछि फालेलुङ गाउँपालिकाको उच्च पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् ।

एक हजार बढीको पिसीआर

जिल्लामा हालसम्म एक हजार जनाभन्दा बढीको पिसीआर परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिबारसम्म यहाँ एक हजार ४८ को पिसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये पाँच मा कोभिड–१९ पोजेटिभ आएको थियो । उनीहरु प्रदेश नं १ का विभिन्न अस्पतालमा उपचारपछि कोरोना भाइरसलाई जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जनप्रतिनिधिले विशेष भूमिका खेलेपछि सङ्क्रमणको सम्भावना उच्च नरहे पनि यहाँ ठूलो सङ्ख्यामा पिसीआर परीक्षण गरिएको हो । यहाँ अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहित केही जनप्रतिनिधिको समेत पिसीआर परीक्षण गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यहाँ पिसीआर परीक्षणका लागि सामग्री उपलब्ध गराएपछि ठूलो सङ्ख्यामा परीक्षण शुरु भएको थियो । यसपछि प्रदेश सरकारले स्वास्थ्य कार्यालयको माध्यमबाट निरन्तर स्वाब परीक्षण किट उपलब्ध गराउँदै आएकामा पछिल्लोपटक जिल्लास्थित स्थानीय तहहरुले आफैँले पनि स्वाब परीक्षण किट खरिद गरी परीक्षणको प्रबन्ध गरेका हुन् । जिल्लाका फालेलुङ, याङवरक, फिदिमलगायत स्थानीय तहले स्वाब परीक्षण किट खरिद गरी परीक्षणको प्रबन्ध गरेका छन् ।

जिल्लामा पाँच जनामा कोभिड–१९ पुष्टि भएको थियो र उनीहरु सबै सरकारी उद्धारमा विभिन्न मुलुकबाट फर्केकाहरु थिए । यहाँका पाँचथर क्याम्पस क्वारेन्टिन र फिदिम मावि क्वारेन्टाइनमा गरी चार महिला र ३४ पुरुष गरी ३८ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुमध्ये केही विदेशबाट फर्केका तथा केही सङ्क्रमितको सम्पर्कमा पुगेको आशङ्का गरिएका व्यक्तिहरु छन् । क्वारेन्टाइनमा रहेकालाई सरकारी मापदण्डअनुसार क्वारेन्टाइनमा राखी स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाउने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?