कोरोना महामारीकाबीच ओलम्पिकमा सहभागिता

काठमाडौं । कोरोना भाइरसले माहामारीको रुप नलिएको भए यति बेला छनोट भएका तीन (पौडी–२, एथ्लेटिक्स–१) तथा वाइल्ड कार्ड पार गरेका केही नेपाली खेलाडी टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गरिहेका हुन्थे । तर अहिले अवस्था फरक छ । पदक लक्ष्यका साथ नेपाली खेलाडी एक वर्ष पछि सरेको ओलम्पिकका लागि महामारीको बीचमा पनि अभ्यासलाई निरन्तरता दिइरहेका छन् ।

विश्व ओलम्पिकमा सहभागिता जनाउनका लागि कुनै पनि खेलाडीका लागि तीन माध्यम छन् । छनोट पार गर्ने, अनिवार्य सहभागी हुनुपर्ने र ‘वाइल्ड कार्ड’ मार्फता सहभागिता गर्ने पाउने प्रावधान छ । छनोटमा असफल भए पनि छनोट प्रतियोगितामा गरिएको प्रदर्शन र प्राप्त नतिजाका आधारमा ओलम्पिक सहभागिताको मौका दिने माध्यम ‘वाइल्ड कार्ड’ हो । नेपालले छनोट चरण पार गर्न निकै कठिन छ । ‘वाइल्ड कार्ड’ नेपालको सहभागिताको बाटो हो । नेपालबाट ७ खेलका १२ खेलाडीको नाम ‘वाइल्ड कार्ड’का लागि सिफारिस गरिएको छ । वाइल्ड कार्डबाट प्रवेश गर्ने लक्ष्य सहित धकेलिएको समयलाई सदुपयोग गर्ने खेलाडी बताउँछन् ।

अनिवार्य सहभागी हुनुपर्ने पौडीबाट संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटिले मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण, २ रजत र ३ कांस्यपदक जितेकी गौरिका सिंह र पुरुषततर्फ उत्कृष्ट प्रदर्शन गरेका एलेक्स गाडेगार्ड शाहको नाम अन्तर्राष्टिय ओलम्पिक कमिटिलाई पठाइसकेको छ । सरकारले भदौ १ गतेतबाट प्रशिक्षण गर्न पाउने गरी निर्देशिका जारी गरेकाले सोही अनुसार प्रशिक्षण सुरु हुने कमिटीका उपाध्यक्ष चतुरानन्दा राजवैद्यले बताए ।

१९६४ को टोकियो संस्करणदेखि गृष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरेको नेपालले १३ संस्करणमा सहभागिता जनाइसकेको छ । नेपालबाट एउटा संस्करणमा १६ जनासम्म खेलाडीले सहभागिता जनाएका छन् । अहिले सम्म छनोट पार गरेर ओलम्पिकमा संगीना वैद्य र दीपक विष्टले मात्र खेलेका छन् ।

ओलम्पिकमा छनोट चरणको प्रावधान लागू भएसँगै वाइल्डकार्डको माध्यम नै नेपाली खेलाडीको औपचारिक सहभागिता हो । समयअनुकुल अभ्यास, न्युन प्रतियोगिता आयोजना हुनु, खेलाडीमा अनुभवको कमी जस्ता कारणले नेपालको ओलम्पिक साँघुरिएको छ । यसबारेमा सम्बन्धित निकायले समयमा ध्यान जरुरी छ नत्र ओलम्पिक सहभागिता एकादेशको कथा जस्तै हुन सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?