उच्चपदस्थ व्यक्तिलाई पनि कोरोनाले छाडेन

मुलुकभर फैलिइरहेको कोरोना संक्रमणले पछिल्लोसमय उच्च पदस्थ व्यक्तिलाई पनि छुन थालेको छ। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको छ भने पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश २ समाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेश सरकारका मन्त्री यादव, प्रदेश सांसद समेत आन्तरिक मामिला तथा कानुन मन्त्रालयका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रिपोर्ट आएदेखि मन्त्री यादव आफूलाई मन्त्रालयनिवासमै आइसोलेट गरेका छन्। उनी चिकित्सकको सम्पर्कमा होम आइसोलेसनमा रहेको एक चिकित्सकले बताए।

एक साता लामो काठमाडौं बसाइपछि उनी साउन १८ गते जनकपुर फर्केका थिए। फर्केको भोलिपल्ट साउन १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट बुधबार पोजेटिभ आएको हो। कोरोना संक्रमण पुष्टि भए पनि उनले आफूमा कुनै लक्षण नरहेको बताएका छन्। उनले दुई साताभित्र आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रहसमेत गरेका छन्।

संक्रमित मन्त्री यादव प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन साउन १४ गते काठमाडौं गएका थिए। सो कार्यक्रमको अध्यक्षता गृहमन्त्री रामबहादुर थापा बादलले गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए। कार्यक्रममा सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरू सहभागी थिए। गृहसचिव, कानुनमन्त्री, प्रहरी महानिरीक्षकलगायतका उच्च अधिकारीसमेत सहभागी थिए।

बैठक सम्पन्न भएपछि प्रधानमन्त्री, गृहमन्त्रीसहित सातवटै प्रदेशका आन्तिरिक मामिलामन्त्री, प्रहरी महानिरीक्षण र उच्च प्रहरी अधिकारी बिनामास्क सामूहिक तस्बिर खिचाएका थिए। एक साताअघि मन्त्री यादवसँगै भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, उद्योग वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायसहितको टोली सिरहाको कमलानदी, घुर्मी नदी, बतहा नदी, बलान नदी, गागन नदीलगायतको क्षति निरीक्षण गर्न सिरहा आएका थिए।

प्रदेशस्तरीय विपद् व्यवस्थापन तथा अनुगमन समितिको कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, प्रहरी उपरीक्षक उमाशंकर पंजीयार, प्रदेश सांसद, कार्यलय प्रमुख, स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र केही पत्रकारसमेत सहभागी थिए।

यस्तै, कांग्रेस नेता ५६ वर्षीय चौरसियाले सामान्य ज्वरो र रुघाखोकी लागेपछि उनले स्वेच्छाले नारायणी अस्पताल पुगेर पिसिआर परीक्षणका लागि मंगलबार आफ्नो स्वाब दिएका थिए। परीक्षण रिपोर्टमा पोजेटिभ आएपछि उनी वीरगन्ज–११ श्रीपुर, ओमआश्रम रोडस्थित आफ्नो घरमैं सेल्फ आइसोलेसन बसेका छन्। आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र हाल आफ्नो घरमै आइसोलेट भएर बसेको उनले बताएका छन्। नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?