संक्रमित तिव्र रुपमा बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो – ‘परिस्थिति अप्ठ्यारो बन्दै गयो’

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका लगायत बाक्लो बस्ती भएको शहरहरुमा कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमण बढ्न थालेको भन्दै थप सावधानी अपनाई कोरोनाबाट बच्नको लागि एसएमएस (भौतिक दूरी, मास्क, साबुन पानीले हात धुनु/ सेनिटाईजर प्रयोग) विधी कडाईका साथ लागू गर्न अनुरोध गरेको छ ।

बितेको २४ घण्टाको अद्यावधिक विवरण दिँदै स्वास्थ्य मन्त्रालयले नेपालीहरुका महत्वपूर्ण चाडबाड नजिक आईरहेको र भिडभाड हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

उनले भने, “काठमाडौंमा कोरोना संक्रमणको दर बढेको छ। सावधानी अपनाएर मात्रै व्यापार व्यवसायमा सहभागि हुनुहोला । भौतिक दूरी कायम गर्नुहोला । अनिवार्य मास्क प्रयोग गर्नुहोला ।  स्वाब संकलनपछि रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्नुहोला ।”

मन्त्रालयले काठमाडौं उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा संक्रमणको दर बढेकोले अस्पतालमा बेड उपकरण र स्वास्थ्यकर्मी अभाव हुन सक्ने भएकोले सावधानी अपनाउन अनुरोध समेत गरेको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाको औषधि पत्ता नलागिसकेकोले अक्सिजन र भेन्टिलेटरले सहयोग मात्र गर्ने भएकोले पछि आउन सक्ने विषम अवस्थाबारे सचेत रहन समेत आग्रह गरेका छन् ।

अस्पतालहरुमा चिकित्सकहरुलाई पनि ‘लगबुक’ राख्न अनुरोध गरेका छन् ।

उनले थपे, “संक्रमण बढ्दै गएमा अस्पतालले धान्न सक्दैन । हाम्रो स्वास्थ्यकर्मी पनि अभाव हुन सक्छ। अकालमा ज्यान जान सक्छ। त्यसैले रोग लाग्न बेलैमा होसियारी अपनाऔँ। बुद्धि पुर्‍याऔँ। काठमाडौं उपत्यकामा कोरोना संक्रमित दर उच्च रुपमा बढेकाले अप्ठ्यारो परिस्थिति सिर्जना भएको उनको भनाई छ ।

उनले थपे, “अप्ठ्यारो परिस्थिति छ। कुनै पनि सरकारी, सामुदायिक र निजी कार्यालयहरूमा कुनै पनि बैठक, छलफल वा सेमिनार बन्द गर्नु छलफल गर्नुपरे भर्चुअल विधिबाट गर्न अपिल गर्दछौं।”

काठमाडौंमा थपिए हालसम्मकै उच्च संक्रमित, ७६ जनामा कोरोना संक्रमण पुष्टि 

बितेको २४ घण्टामा नेपालमा ३ सय ६० जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएकोमा काठमाडौंमा मात्रै ७६ जना संक्रमित थपिएका छन् । यो हालसम्मकै उच्च संख्या हो । अहिलेको अवस्थामा काठमाडौंमा ५०० जनाभन्दा बढी ‘सक्रिय संक्रमित’ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै १५ जना, स्टार अस्पतालमा ४ जना, विर अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ५ जना, प्रहरी अस्पतालमा १३ जना, विरेन्द्र अस्पताल छाउनीमा १ जना, ह्याम्स अस्पतालमा ९ जना, किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा १ जना गरी बितेको २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा हिजो (बुधबार) ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गत साउन ७ गतेबाट सरकारले करिब ४ महिना लामो लकडाउन एकाध क्षेत्र बाहेकको लागि खुल्ला गरेसँगै काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) सहित देशका घना बस्ती भएका शहरहरुमा तीव्र रुपमा संक्रमण फैलिरहेको छ ।

हिजो सरकारले २०० जनाभन्दा बढी सक्रिय संक्रमित ‘उपचाररत कोरोना संक्रमित’ भएका जिल्लामा आजबाट जोर बिजोर प्रणाली लागू गर्न निर्देशन दिएको छ । तर विज्ञहरुले हालको अवस्थामा लकडाउन वा कफ्र्यूको विकल्प मात्रै बाँकी रहेको बताएका छन् ।

यसैबीच कोरोनाको कारण थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा आज (बिहीवार) थप ३६० जनामा कोरोना भाईरस ‘कोभिड -१९’ संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ३८९ पुगेको छ ।

नेपालमा हिजो (बुधवार) ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?