आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं । काठमाडौंका युनिस गौतम र विभागीय टोली त्रिभुवन आर्मीकी रिना धिमाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल आईटिएफ तेक्वान्दोको २३ औं बार्षिक उत्सवका अवसरमा महासंघले बर्ष २०१९ का उत्कृष्ट पुरुष खेलाडीको रुपमा युनिस र उत्कृष्ट महिला खेलाडीको रुपमा रिनालाई घोषणा गरेको हो ।

युनिस काभ्रे जुनियर राष्ट्रिय आईटिएफ च्याम्पियनसिपका उत्कृष्ट खेलाडी हुन भने रिनाले १९औं राष्ट्रिय आईटिएफ च्याम्पियनसिमा तीन स्वर्ण पदक जित्न सफल भएकी थिइन् । रिनाले स्पाइरिङ, प्याटर्न र ग्रुप स्पाइरिङमा स्वर्ण पदक हात पारेकी थिइन् । यस्तै उत्कृष्ट प्रशिक्षक काभे्रका राजमन्दीर श्रेष्ठ घोषित भए ।

संघले उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद पाँच हजार रुपैयाँ सहित प्रशंसा पत्र प्रदान गरेको छ । उत्कृष्ट सबैलाई राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोइराला, आईटिएफका सल्लाहकार लील बहादुर थापा मगर लगाएतले पुरस्कार वितरण गरे ।

कार्यक्रममा राखेपका उपाध्यक्ष कोइरालाले नयाँ ऐन जारी भएपछि पहिले र अहिलेको खेलकुद परिषद फरक भएको बताए । उनले पुरानो छबीलाई मेटाउँदै नयाँ योजनाका साथ अगाडि बढ्ने समय आएको समेत बताए ।

वार्षिक उत्सवकै अवसरमा नेपाल आइटिएफ महासंघले आउट स्टान्डिङ इन्सटक्टरको रुपमा रुपसिंह मोक्तानलाई चयन गरेको छ । यस्तै उदीयमान इन्सटक्टरको उपाधि रोल्पाका विक्रम बाठा मगरलाई प्रदान गरिँदा उत्कृष्ट जिल्लाको उपाधि मोरङले हात पारेको छ । उत्कृष्ट प्रदेश २ नं रह्यो । उत्कृष्टलाई सम्मान पत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?