काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थपिएका ३ सय ६० जनामा कोरोना भाईरस ‘कोभिड-१९’ संक्रमण पुष्टि भएकोमा काठमाडौंमा मात्रै ७६ जना संक्रमित थपिएका हुन् । यो हालसम्मकै उच्च संख्या हो । अहिलेको अवस्थामा काठमाडौंमा ५०० जनाभन्दा बढी ‘सक्रिय संक्रमित’ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै १५ जना, स्टार अस्पतालमा ४ जना, विर अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ५ जना, प्रहरी अस्पतालमा १३ जना, विरेन्द्र अस्पताल छाउनीमा १ जना, ह्याम्स अस्पतालमा ९ जना, किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा १ जना गरी बितेको २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता गौतमका अनुसार नेपालका ५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी कोरोना संक्रमित भएका ५ जिल्ला
- महोत्तरी
- रौतहट
- काठमाडौं
- पर्सा
- कैलाली
गत साउन ७ गतेबाट सरकारले करिब ४ महिना लामो लकडाउन एकाध क्षेत्र बाहेकको लागि खुल्ला गरेसँगै काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) सहित देशका घना बस्ती भएका शहरहरुमा तीव्र रुपमा संक्रमण फैलिरहेको छ ।
हिजो सरकारले २०० जनाभन्दा बढी सक्रिय संक्रमित ‘उपचाररत कोरोना संक्रमित’ भएका जिल्लामा आजबाट जोर बिजोर प्रणाली लागू गर्न निर्देशन दिएको छ । तर विज्ञहरुले हालको अवस्थामा लकडाउन वा कफ्र्यूको विकल्प मात्रै बाँकी रहेको बताएका छन् ।
यसैबीच कोरोनाको कारण थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा आज (बिहीवार) थप ३६० जनामा कोरोना भाईरस ‘कोभिड-१९’ संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ३८९ पुगेको छ ।
नेपालमा हिजो (बुधवार) ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया