कोरोना प्रभाव : लकडाउन पछि निजी क्षेत्रमा २२ प्रतिशत मानिसले रोजगारी गुमाए

काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि निजी क्षेत्रमा काम गर्ने २२ दशमलव ५ प्रतिशत मानिसहरुले रोजगारी गुमाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी सर्वेक्षण प्रतिवेदन’ अनुसार २२ दशमलव ५ प्रतिशत कर्मचारी-कामदारहरुले रोजगारी गुमाएका छन् ।

यो अवधिमा होटल, रेस्टुरेन्ट क्षेत्रमा सबैभन्दा बढी कर्मचारी-कामदारहरु कटौति भएको पाइएको छ । त्यस्तै घरेलु उद्योग, लघु उद्यम लगायतका खुद्रा व्यापारिक क्षेत्रमा सबैभन्दा धेरै कामदार कटौति भएको राष्ट्र बैंकले जनाएको छ ।

लकडाउनको अवधिमा ४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा र ३५ प्रतिशत आंशिक रुपमा सञ्चालनमा रहेका छन् । त्यसबाहेक ६१ प्रतिशत उद्योग व्यवसायहरु पूर्णरुपमा बन्द भएका छन् । अधिकांश उद्योग-व्यवसायहरु बन्दा हुँदा अर्थतन्त्रमा गहिरो असर परेको निष्कर्ष राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनको रहेको छ ।

लकडाउनको अवधिमा उद्योग-व्यवसायहरुले औसतमा १८ दशमलव २ प्रतिशत तलब कटौती गरेका छन् । अन्य सुविधामा पनि उल्लेख्य कटौति गरेको प्रतिवेदनमा उल्लेख छ । यो अधिमा उद्योग व्यवसायहरुले औसतमा ७३ दशमलव ८ प्रतिशत उत्पादन-कारोबार घटेको बताएका छन् ।

ठूलो परिमाणमा उद्योग-व्यवसायहरुको उत्पादन घटनुले आर्थिक क्रियाकलापमा उल्लेख कमि आएको पुष्टि हुने राष्ट्र बैंकको निष्कर्ष छ । सर्वेक्षणले अधिकांश उद्योग व्यवसायहरुले नेपाल सरकारले बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराए रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?