प्रचण्ड र नेम्वाङबीच भेटवार्ता, नेम्वाङ भन्छन् – ‘दुई अध्यक्षबीच आज छलफल नहोला’

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ ।

यसअघि सातादिनको ग्याप पछि नेता झलनाथ खनाललाई लिएर ओलीसँग भेट्न प्रचण्ड बालुवाटार पुगेका बेला ओलीसँग नेम्वाङ पनि साक्षी थिए ।

दुई अध्यक्षबीच सहमतिको बिन्दूमा पुग्न नसकिरहेका बेला प्रचण्डकै आग्रहमा नेम्वाङ खुमलटार पुगेको स्रोतले बताएको छ । प्रचण्डले ओलीसँगको टेलिफोन कुराकानीका क्रममा नेता नेम्वाङसँग कुरा गर्न चाहेको बताएका थिए । लगत्तै बालुवाटारले नेम्वाङलाई खुमलटार पठाएको स्रोतले जनाएको छ।

दुई अध्यक्षबीच वार्ताको वातावरण बनाई छिटोभन्दा छिटो यो परिस्थीतीको समाधानका लागि आफू लागिपरेको उनको भनाई छ । तर उनले दुई अध्यक्षबीचको छलफल आज हुने संभावना नरहेको बताएका छन् ।

प्रचण्डले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेपछि सुरु भएको लफडाका कारण गत असार १० गतेबाट जारी पार्टीको स्थायी कमिटी बैठक १० पटकसम्म स्थगित भएको छ । भने पछिल्लोपटक अनिश्चितकालका लागि रोकिएको छ । देशमा कोरोनाको कहर बढीरहेका बेला शिर्ष नेतृत्व राजनीतिक समिकरणमा लागेका कारण जनता निराश बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?