फिलिपिन्सको अर्थतन्त्र मन्दीतर्फ उन्मुख

मनिला । दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तिब्र गतिमा संकुचित भएको छ ।

फिलिपिनी तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यवसाय ध्वस्त भएको र दशौं लाख मानिस बेरोजगार भएको उल्लेख छ ।

विभागका अनुसार दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कूल गार्हस्थ्य उत्पादन १६.५ प्रतिशतले घटेको छ । यस अवधिमा फिलिपिन्स सरकारले कडा नियमहरु सहितको लकडाउन गरेको थियो ।

सरकारले यसअघि वर्षको शुरुका तीन महिनामा अर्थतन्त्र ०.७ प्रतिशतले मात्र खुम्चिने आँकलन गरेको थियो । तर सन् १९८१ यता पहिलो पटक अर्थतन्त्रमा सर्वाधिक असर परेको विभागको भनाई छ । विगत तीन दशकमा फिलिपिन्सको अर्थतन्त्र पहिलो पटक मन्दीतर्फ उन्मूख भएको हो ।

फिलिपिन्समा यसैसाता कोरोनाभाइरसबाट संक्रमितको संख्या एक लाख १५ हजार नाघेको छ । लकडाउन खुकुलो बनाएसँगै जुन महिनायता मात्र संक्रमितको संख्या पाँच गुणाले बढेको हो ।

सामाजिक–आर्थिक योजना सचिव कार्ल चुआले महामारी र यसबाट अर्थतन्त्रमा परेको असरले विषम परिस्थिति सिर्जना गरेको बताए ।

तर राष्ट्रपति रोड्रिगो डुटेर्टेले लामो समयसम्म मुलुकलाई बन्दाबन्दीको अवस्थामा राख्न नसकिने बताएका छन् । उनले भनेका छन्, “मुख्य समस्या भनेकै हामीसँग थप रकम अब छैन । हामी जनतालाई थप खाद्यान्न र राहत रकम बाँड्न सक्ने अवस्थामा छैनौँ ।”

फिलिपिन्सको विप्रेषण पनि अघिल्लो वर्षको तुलनामा पहिलो पाँच महिनामा ६.४ प्रतिशतले घटेको छ । बिदेशमा रोजगारी गुमाएका ठूलो संख्याका व्यक्तिहरु स्वदेश फर्किएका छन् ।

तथ्याँक विभागका अनुसार उपभोग्य खर्चमा पनि १५.५ प्रतिशतले कमी आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?