उद्योग वाणिज्य महासंघको निर्वाचन मोडालिटी बनाउन ६ सदस्यीय समिति गठन

काठमाडौं । कोरोनाको कारण दुई पटकसम्म रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको मोडालिटी तयार गर्नका लागि समिति गठन गरिएको छ ।

महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको मोडालिटी तय गर्न समिति गठन गरिएको हो । बुधबार (आज) भएको महासंघ कार्यकारिणी समितिको भर्चुअल बैठकले साधारणसभा र निर्वाचनको मिति तय गर्न ६ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिले १५ दिनभित्र साधारणसभासँगै नयाँ कार्यसमितिको निर्वाचन कहिले र कसरी गर्ने भन्ने प्रतिवेदन सहितको सुझाव पेश गर्ने बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

उनका अनुसार समितिमा जिल्ला तथा नगरबाट डीबी बस्नेत र अरुण सुमार्गी, वस्तुगतबाट विनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ त्यसै गरी एशोसिएटतर्फबाट रञ्जित आचार्य र भरत आचार्य छन् । ६ जनाको समितिले तयार पारेको मोडालिटीलाई कार्य समितिले पारित गर्दै सोहीअनुसार स्वीकृतिका लागि सरकारसँग आग्रह गरिने उनले निर्णय भएको उनले बताए ।

उनका अनुसार महासंघको यस अघिको बैठकले साउन २६ र २७ गतेका लागि बोलाइएको साधारण सभा स्थगित गर्ने निर्णयलाई पनि बुधबारको बैठकले अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?