कोरोना भयावह बन्दै : काठमाडौंमा थपिए ५७ जना संक्रमित, थप २ जनाको मृत्यु

काठमाडौं – बितेको २४ घण्टामा काठमाडौंमा थप ५७ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।

देशभर थपिएका ३८१ जनामध्ये काठमाडौंका ५७ जना हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६३५९ वटा नमूना जाँच गरिएकोमा काठमाडौंमा मात्रै ५७ वटा ‘नयाँ केस’ पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा १४ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा १ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा २ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा ११ जना, स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा १ जना बिआईडिएच प्रयोगशालामा गरिएको परिक्षण काठमाडौंका १ जना गरी ५७ जना संक्रमित थपिएका हुन् ।

हिजो (मंगलबार) काठमाडौंमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज ललितपुरमा थप ५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले जोखिम बढीरहेको कारण हरेक व्यक्तिले मलाई कोरोना छैन तर दोस्रोबाट सर्न सक्छ भनेर आफू पनि सुरक्षित रहन र अर्को व्यक्तिसँगको दूरी कायम गरी सचेत रहन अनुरोध गरेको छ ।

नेपालमा आज (बुधवार) थप ३८१ जनामा कोरोना भाईरस ‘कोभिड १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । यो नेपालको कुल जनसंख्याको ५.१ प्रतिशत हो । हाल नेपालमा ६ हजार १ सय ७४ जना ‘एक्टिभ केसहरु’ अर्थात् आईशोलेसनमा उपचार गराईरहेका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिँदै संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको बताए । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक ट्रेसिङ’ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ६० जनाको मृत्यु भएको छ ।

नेपालमा हिजो (मंगलवार) २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाको कारण एकैदिन पर्सामा २ जनाको मृत्यु

नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साकी १८ वर्षीया युवती, पर्साकै अर्का ४६ वर्षीय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा थप १३० जना कोरोना संक्रमणमुक्त :
नेपालमा बितेको २४ घण्टामा थप १ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजार १ सय ५६ रहेको छ । कुल कोरोना संक्रमित मध्ये ७०.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

५ सय भन्दा बढी कोरोना संक्रमित उपचाररत भएका ४ जिल्ला

महोत्तरी
रौतहट
कैलाली
पर्सा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?