दमौली । गत असार २९ गतेको पहिराले खानेपानीको पाइप क्षति पुगेपछि अवरुद्ध भएको यहाँको खानेपानी २२ दिनपछि पूर्ण रुपमा सञ्चालन भएको छ । व्यास नगरपालिका–४ स्थित बैरेनीमार्गमा पहिराले पाइप क्षति पुगेपछि दमौलीमा खानेपानीको हाहाकार भएको थियो ।
पहिराले जिआइ पाइप बगाएको ठाउँमा ढलान गरिएपछि मङ्गलबार साँझदेखि खानेपानी वितरण गरिएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक अमर गिरीले जानकारी दिए । “पहिराले ४२ इन्चको जिआइ पाइपमा क्षति पुगेको थियो, उक्त स्थानमा गाह्रो लगाएर ढलान गरेपश्चात् खानेपानी पुनःसञ्चालन भएको छ”, उनले भने, “मङ्गलवार साँझबाटै पानी छाड्यौँ, आज बिहानदेखि पूर्णरुपमा खानेपानी वितरण भएको छ ।”
पहिराले पाइपमा क्षति पुगेपछि समितिले दैनिक बिहान एक घण्टा मात्रै पानी वितरण गर्दै आएको थियो । तनहुँ सदरमुकामस्थित व्यास नगरपालिका वडा नं २, ३ र ४ मा समितिले खानेपानी वितरण गर्दैै आएको छ । “तीन वडामा दैनिक ३० लाख लिटर खानेपानीको आपूर्ति भइरहेको थियो, पहिराले पाइप क्षति पुगेपछि भने दैनिक १० लाख लिटर मात्रै पानी वितरण गरेका थियौँ”, उनले भने, “अब समस्या आएन भने दैनिक ३० लाख लिटर नै पानी वितरण हुनेछ ।” रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया