5 August, 2020 12:52 pm

डा. अरुणा उप्रेतीले सुझाईन् उपाय – ‘आफ्नो स्वास्थ्यको ख्याल यसरी गरौँ’


प्रकाशित मिति : 5 August, 2020 12:52 pm

काठमाडौं – कोरोनाको कहरका बेला अहिले रोगसँग लड्ने खान भनेर बजारमा बेचिने केही पनि नखान डाक्टर अरुणा उप्रेतीले सुझाव दिएकी छिन् । कुनै पनि औषधिको भिटामिन, फोलिक एसिड, क्याल सियम चक्किले स्वास्थ्य सुधार नगर्ने भन्दै उनले घरको स्वास्थ्य खानाले नै रोग सँग लड्ने शक्ती दिने बताएकी छिन् । उनले लेखेकी छिन् : 

डाक्टरहरू पनि ‘तिम्रो भोजन नै औषधि हो’ भन्छन् । वास्तवमा राम्रो भोजन नभए जति औषधि खाए पनि काम लाग्दैन ।

विवेकशील जनस्वास्थ्य विज्ञहरूका अनुसार पूरक आहारलाई औषधिको रूपमा खानै पर्दैन । सन्तुलित खाना खाए पुग्छ । पूरक आहार किन्नु व्यर्थमा पैसा खर्च गर्नु हो ।

कुपोषित बालबालिकालाई भोजनको माध्यमबाट नै स्वस्थ बनाउन सकिन्छ । स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा स्थापना गरेको ‘पोषण पुनस्स्थापना गृह’मा कुपोषित बालबालिकालाई भान्छाकै खानेकुरा ख्वाएर, मसाज गरेर, खेलाएर, घाममा राखेर ठिक पारिन्छ । तर पूरक आहार बनाउने कम्पनीहरू भन्छन्, ‘सूक्ष्म पोषण तत्त्वहरू भएको पूरक आहारले अनेक रोगबाट बचाउँछ ।’ यस्तो भ्रम सिर्जना गरेर उपभोक्तालाई नचाहिने औषधि किन्न लगाइन्छ ।

भारतमा सन् २०१७ मा ४ खर्ब डलरको ‘पूरक आहार’को व्यापार थियो । २०२२ मा यो १० खर्बको हुने एक अध्ययनले देखाएको छ । अर्थात् अनेक विज्ञापनको फन्दामा फँसेर मानिसहरू घरको खाना बेवास्ता गरी पूरक आहार किन्छन् । नेपालमा पनि त्यस्तै अवस्था देखा परिरहेको छ । मानिसहरूले ५ रुपैयाँमा पाइने खाना छाडेर पूरक आहारको रूपमा ५० रुपैयाँमा क्याप्सुल किन्छन् । आजभोलि स्वास्थ्यकर्मीहरूले पूरक आहारलाई औषधि भनी लेखिदिन्छन् । कति दुस्खलाग्दो कुरा ।

म १६ महिना नेदरल्यान्ड बसेँ । त्यहाँ कसैलाई पनि ‘भिटामिन’ वा ‘पूरक आहार’ दिएको देखिन्न । अमेरिकामा चाहिँ ‘हेल्थ फुड’ को नाममा पूरक आहारमा अर्बौं डलरको व्यापार हुन्छ । पूरक आहार नखाने डचहरू अमेरिकनहरूभन्दा स्वस्थ छन् भन्ने तथ्यांकले देखाउँछ ।

भारतमा गरिएको एक अनुसन्धान अनुसार भिटामिनको चक्की, झोल र खनिज पदार्थ ४० प्रतिशत, अनेक थरीका ‘हर्वल औषधि’ भनेर २० प्रतिशत, फो बायोटिक १० प्रतिशत, ओमेगा ३ फ्याट्टी एसिड, प्रोटिन १५ प्रतिशत विभिन्न नामबाट बिक्री हुन्छ । यो पढेपछि मलाई लाग्यो, त्यहाँका करोडौं जनतालाई ‘पूरक खाना’को रूपमा ठगिएको छ । त्यहाँका जनताले घरको गहुँ, दाल, दही छाडेर पूरक आहार खान्छन्, भोजन होइन ।

नेपालमा कुनै–कुनै स्वास्थ्यकर्मीले बिरामीलाई ३ वटा औषधि लेखे त्यसमा २ वटा पूरक आहार लेख्छन् ।
काठमाडौंका ३ वटा अस्पतालमा ३ सय बिरामीको पुर्जीको विश्लेषण गर्दा डाक्टरले लेखिदिएको औषधि हेर्दा ५१ प्रतिशतलाई भिटामिन, १५ प्रतिशतलाई खनिज, ५ प्रतिशतलाई प्रोबायटिक, ३ प्रतिशतलाई प्रोटिन, ३ प्रतिशतलाई पाचन रस दिइएको फेला पर्‍यो ।

‘बालबालिकालाई घरको खानाले पुग्दैन । त्यसैले भिटामिन ‘ए’, ‘डी’ मिलाइएको पिठो ख्वाउनुपर्छ । महिलाहरू गर्भवती भएका बेला घरमा पकाएको खानाले मात्र कुपोषण हुनसक्छ । बच्चा सानो हुनसक्छ । त्यसैले फोर्टिफिकेसन गरेको अन्न ख्वाउनुपर्छ ।’ व्यापारीहरू यस्ता भ्रामक प्रचार बारम्बार गर्छन् । तर गर्भवती महिलालाई पहिले नै शरीरमा भिटामिन ‘ए’ र ‘डी’ पर्याप्त छ भने भिटामिन ‘ए’ र ‘डी’ले ‘फोर्टिफिकेसन’ मिलाएको पिठो वा चामल खान दियो भने उसको शरीरमा यस्ता भिटामिन बढी हुनसक्छ । अनि झन् नोक्सान गर्छ । शरीरमा भिटामिन ‘ए’ चाहिनेभन्दा बढी भएपछि छालाका अनेक समस्या देखिन्छन् ।

आफ्नो स्वास्थ्य आफ्नो हातमा राखे बेश होला नि ।

प्रतिक्रिया दिनुहोस