आज उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठक बस्दै, निर्वाचनबारे छलफल हुने

काठमाडौं । बुधवार दिउँसो (आज) नेपाल उद्योग वाणिज्य महासंघले स्थगित वार्षिक साधारणसभाको नयाँ मिति तय गर्न कार्यसमिति बैठक बस्ने भएको छ ।

महासंघको आगामी साधारण सभा कहिले र कसरी गर्ने भन्ने बारेमा निर्णय लिने स्रोतले जनाएको छ ।

चैतमा हुनुपर्ने साधारण सभा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण स्थगित भएपछि महासंघले साउन २६ र २७ गते ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन गर्ने तय गरेको थियो । तर, सरकारले सभा सम्मेलन भेला गर्न अनुमति नदिएको भन्दै साउन ८ गते बसेको महासंघका पूर्वअध्यक्ष र पदाधिकारी भेलाले उक्त साधारण सभा स्थगित गर्ने निर्णय लिएको थियो।

आजको कार्यसमिति बैठकले ५४ औं साधारणसभा सम्बन्धमा निर्णय गर्ने एक पदाधिकारीले जानकारी दिए । ती पदाधिकारीका अनुसार आजको बैठकमा निर्वाचनको मिति, मोडालिटीका बिषयमा छलफल हुने बताइएको छ । बैठकमा भर्चुअल निर्वाचनको मोडलका बारेमा समेत छलफल हुने बताइएको छ ।

तर, महासंघले डिजिटिल निर्वाचनको तयारी थालेपछि विधान विपरित भएको भन्दै विरोध हुन थालिसकेको छ । कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेको अवस्थामा निर्वाचन गर्न नसकिने महासंघको राजनीतिलाई लामोसमयदेखि नियालीरहेका एक जानकार पूर्व पदाधिकारीले बताए । ‘अहिले काठमाडौंमा निर्वाचन गर्नसक्ने अवस्था छैन्, जिल्ला जिल्ला र डिजिटिल निर्वाचन गर्ने व्यवस्था विधानमा छैन् । विधान विपरितको निर्वाचन मान्य हुँदैन् ।’ उनले भने ।

सरकारले समेत लकडाउन गर्ने बिषयमा छलफल थालिसकेको र विज्ञहरुले समेत लकडाउन गर्न सुझाएको अवस्थामा महासंघको निर्वाचनको मिति तत्काल तोक्नुभन्दा पनि निर्वाचनको लागि अनुकुल समय नहुँदासम्म महासंघलाई सहमतिका आधारमा अगाडि बढाउनुपर्ने उनको भनाई छ ।

त्यस्तै यसअघि बसेको महासंघका पूर्वअध्यक्षहरु सहितको पछिल्लो पदाधिकारी भेलाले सरकारले सभा सम्मेलन खुला गरेको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय गरेको थियो। कोरोनाका कारण गत चैतमा हुनुपर्ने महासंघको साधारण सभा साउन २६ र २७ गतेका लागि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?