झोलुङ्गे पुल बाढीको उच्च जोखिममा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेको छ । गत वर्ष दुई करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको पुल भरपर्दो तटबन्ध निर्माण नहुँदा जोखिममा परेको हो ।

पुलको उत्तरतर्फको तिलकी र दुवाहा क्षेत्रमा नदीले जग्गा कटान तीव्र बनाएको स्थानीय लक्ष्मण रानाले बताए । जग्गा कटान रोक्नका लागि गत वर्ष प्रदेश सरकारको ४० लाख रुपैयाँको लागतमा बनेको १२० मिटर लामो तटबन्ध भत्किएपछि नदीले जग्गा कटान तीव्र बनाएको रानाले बताए। उनले भने, “तटबन्धको एक ठाउँमा १० फिट र अर्को ठाउँमा ७० फिट नदीको बाढीले भत्काएको छ ।” तटबन्ध भत्किएपछि झोलुङ्गे पुलसमेत खतरामा परेको उनले बताए । तटबन्ध निर्माण ठेकेदारले राम्ररी नगर्दा भत्किएको स्थानीय बासिन्दाको भनाइ छ ।

तत्काल तटबन्ध निर्माण नगरिए नदी तटीय क्षेत्रमा बसोबास गर्ने ७५ घरधुरीमध्ये १५ घरधुरी नदीको उच्च जोखिममा पर्ने भएका छन् । स्थानीय मङ्गल चौधरी, बालसुग्रिव राना, शिवजी राना, फिर्ता रानालगायत आठभन्दा बढी परिवारको धान रोपेको जग्गा नदीले कटान गरिरहेको छ । हालसम्म पाँच कठ्ठाभन्दा बढी धान रोपेको जग्गा नदीको बाढीले बगाइसकेको चौधरीले बताए। नदीमा अझै पानीको बहाव उच्च रहेकाले जग्गा कटान जारी छ । नदीले तीव्र जग्गा कटान गर्न थालेपछि दुई परिवार विस्थापनको सङ्घारमा पुगेका छन् ।

स्थानीय बासिन्दाको जग्गा कटान हुनबाट जोगाउन र झोलुङ्गे पुल जोगाउनका लागि तत्काल तटबन्ध मर्मत नै एक मात्रै विकल्प भएको वडाध्यक्ष बाले रानाले बताए। तटबन्ध मर्मत र निर्माणका लागि नगरपालिका र प्रदेश सरकारसँग पहल भइरहेको उनको भनाइ छ । गत वर्षसमेत छ व्यक्तिको जग्गा बाढीले बगाउन थालेपछि स्थानीयवासीको आग्रहमा प्रदेश सरकारले तटबन्ध निर्माणकार्य अगाडि बढाएको थियो ।

पानी रोकिँदा बस्ती बग्नबाट जोगियो

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ चुरे क्षेत्र भएर बग्ने खन्नेखोलामा बनाइएको बाँध बाढीका कारण भत्किएको छ । केही दिनअघि खोलामा आएको बाढीले बाँध भत्काएको हो । बाँधको पश्चिम किनारा बाढीको पानीले कटान गरी बगाएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणले दुई वर्षअघि खन्नेखोलामा बनाएको बाँध बाढीका कारण ठाउँठाउँमा भत्किएको छ । केही स्थानमा बाँधका स्पर ग्राभेलले छोपिएका छन् ।

“वर्षा रोकिएपछि बस्ती जोगियो, नत्र बगाउँथ्यो”, वडा नं ३ का अध्यक्ष रामबहादुर जप्रेलले भने, “अझै पनि खोला बीचको ग्राभेल हटाइएन भने खतरा नै छ ।” खन्नेखोलाको मुहानदेखि तल चाँदमारी पश्चिम क्षेत्रको बाँधमा बाढीको असर देखिएको छ । बाँध बनाउँदा नजिकका ढुङ्गा निकालिएको स्थानमा बाढी पानीले कटान गरेपछि बाँध भत्किएको छ ।

स्थानीयवासीका अनुसार बाढीले आधा दर्जन स्थानमा बाँधको ढुङ्गाको जाली भत्काएको छ । तीनभन्दा बढी स्थानमा बाँधका स्पर भत्किएका छन् । स्थानीयवासीको अवरोधका कारण खन्नेखोलामा थुप्रिएको ग्राभेलले अहिले बाढी बस्तीमा पुग्ने देखिएको छ । स्थानीयवासीका अनुसार खोला बीचमा थुप्रिएको ग्राभेलले बाढी किनारमा पसेर कटान गरेको छ । “बाँध बनाउँदा पनि बीचको ढुङ्गा उठाइएन । त्यसपछि यहाँका बासिन्दाको अवरोधले ग्राभेल उठाउन पाइएको छैन”, स्थानीय कर्णबहादुर विष्टले भने, “त्यही ग्राभेल उठाउन नदिँदा अहिले बस्ती बग्ने अवस्थामा पुग्यो, धन्न जोगियो ।”

खोलाको ग्राभेल व्यवस्थितरूपमा निकालेर बाँध किनारको कटानलाई रोकेर मात्रै बस्ती जोगिने विष्टले बताए । खन्नेखोलाको बाँध भत्किएर बाढी बस्तीमा पसेमा भीमदत्त नगरपालिकाका आधा वडाका बासिन्दा प्रभावित हुने भएका छन् । भीमदत्त नगरपालिकाका तिलकपुर, हल्दुखालसहित वडा नं ६, १, ४, १८, १९ र १५ सम्म बाढीले क्षति पुर्याउने अनुमान गरिएको छ । तिलकपुर, राधाकृष्णटोल र हल्दुखालमा सबैभन्दा बढी क्षति हुने गरेको छ ।

स्थानीयवासीका अनुसार विसं २०७० पछि खोलामा बाढी आउने गरेको छ । सात वर्षअघि बाढीले एक घर बगाएको थियो । राधाकृष्णटोलको २० बिघा जमिनमा बालुवा थुप्रिएको थियो । तिलकपुर र हल्दुखालका झण्डै तीन दर्जन परिवारले खन्नेखोलाका कारण जग्गा गुमाएका छन् । खन्नेखोलाको मुहान नजिक क्षेत्रमा निरन्तर झर्ने पहिरोले पनि खोलाको सतह बढ्दै गएको हो ।

खोलाको सतह बढ्दै गएकाले ग्राभेल निकाल्नबाहेकको अरु विकल्प नभएको स्थानीय लोकराज जोशीले बताए । “ग्राभेल उठाउन दिँदैनन्, खोलाको सतह बढ्यो”, उनले भने, “अब बाढी रोक्न बीचमा ग्राभेल निकालेर खोलाको सतह घटाउनको कुनै विकल्प नै छैन ।”

स्थानीय तह निर्वाचनपछि दुई वर्षसम्म खोलाबाट ग्राभेल निकालिए पनि गत वर्ष अवरोध गरिएको थियो । वडाध्यक्ष जप्रेलले तिलकपुर–बैजनाथ विद्यालयसम्मको सडक कालोपत्रको काम पूरा नभएको भन्दै स्थानीयवासीले ग्राभेल उठाउन नदिएको बताए । “त्यो सडक बनाइदिए ग्राभेल उठाउन दिन्छौँ भन्छन्, अब त्यो सडक बनाइदिनुपर्यो”, उनले भने, “खोलामा भने जसरी पनि ग्राभेल उठाउनुपर्छ ।” नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बाँध जोगाउन, मर्मत गर्न र खोलाको बाढीबाट नजिकैका बस्तीमा क्षति हुन नदिनका लागि सङ्घ र प्रदेश सरकारसँग पहल गरिने बताए। थोरै रकमले बाँध मर्मत गर्न नसकिने भएकाले चाँडै माथिल्लो निकायमा सहयोगका लागि पहल गरिने उनले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?