गोलीकाण्डमा पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

सर्लाही । जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह २५ हजार रुपैयाँ  धरौटीमा रिहा भएका छन् । जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदालत सर्लाहीले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सो घटनामा पक्राउ परेका मुकेशकुमार साह यसअघि नै  एक लाख रुपैयाँ र छोटेलाल सहनी २५ हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका तथा गाउँपालिका अध्यक्षलाई सोमवार २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए ।

गएको असार १४ मा धनकौल गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप हुँदा प्रहरीसहित २० घाइते भएका थिए । घाइतेमध्ये नेकपाका केही कार्यकर्तालाई गोलीसमेत लागेको थियो । घटनामा गाउँपालिकाका अध्यक्ष साहले गोली चलाएको आरोप नेकपाले लगाउँदै आएको छ ।

साह कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । असार ६ मा जिल्लाकै रामनगर गाउँपालिका–४ बोहरवाका ६० वर्षीय रामजलम राय यादवको हत्या भएको थियो । यादवको हत्याको विरोधमा धनकौलमा नेकपाले निकालेको विरोध ¥यालीमा गोली चल्दा तीन प्रहरीसहित २० प्रदर्शनकारी घाइते भएका थिए । गोली प्रहार घटनामा प्रदेश नं २ का प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहको समेत हात रहेको नेकपाका कार्यकर्ताको आरोप छ ।

सांसद सिंहविरुद्धको उजुरी भने प्रहरीले दर्ता गर्नै नमानेको नेकपाले आरोप लगाएको छ । घाइतेहरुले सांसद सिंह, गाउँपालिका अध्यक्ष साहसहित १० जनाविरुद्ध त्यतिबेलै किटानी जाहेरी दिएका थिए । दबाब बढेपछि प्रहरीले सांसद सिंह र अध्यक्ष साहको घरबाट समेत लाइसेन्स प्राप्त बन्दुक बरामद गरेर अनुसन्धान अघि बढाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?