जुलाईमा स्पेनको बेरोजगार दरमा उल्लेख्य कमी

म्याड्रिड । स्पेनमा बेरोजगारको रूपमा दर्ता भएका व्यक्तिको सङ्ख्या जुलाईमा ८९ हजार ८४९ ले कमी आएको श्रम, प्रवास र सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलवार प्रकाशित गरेको मासिक तथ्याङ्कले देखाएको छ । यद्यपि अहिले पनि स्पेनमा एघार करोड ८० हजार बेरोजगार रहेको तथ्याङ्क छ ।

सन् १९९७ पछि बेरोजगार दरमा सबैभन्दा ठूलो कमी आएको देखिएको यो पहिलो पटक हो । महामारीको समयमा ठूलो सङ्ख्यामा बेरोजगार बनेका नागरिक क्रमशः काममा फर्किन थालेकाले बेरोजगार दरमा उल्लेख्य कमी आएको देखिएको हो ।

स्पेनमा कोभिड–१९ का कारण मार्चदेखि जूनबीचको अवधिमा बेरोजगार व्यक्तिहरूको सङ्ख्या छ लाख १६ हजार ८३६ पुगेको थियो । मन्त्रालयको तथ्याङ्क अनुसार स्पेनमा अप्रिल र मार्चमा मात्रै क्रमशः दुई लाख ८२ हजार ८९१ र तीन लाख दुई हजार ३६५ व्यक्तिले रोजगारी गुमाएका थिए । तर महामारी विस्तारै नियन्त्रणतर्फ आउँदै गर्दा यो सङ्ख्यामा उल्लेख्य कमी आउन थालेको सरकारी तथ्याङ्कले देखाएको छ ।

सङ्कटको वेला कम्पनीहरूलाई रोजगारी बचाउन सहयोग गर्ने सरकारी योजना अन्तर्गत बनाइएको अस्थायी संयन्त्र (ईआरटीई) मा सम्मिलित व्यक्तिको सङ्ख्यामा लकडाउन खुकुलो भएसँगै कम्पनी तथा फर्महरूले काम सञ्चालन गरेपछि करिव सात लाख १२ हजार कामदारहरू काममा फर्किएका र अहिले स्पेनमा एघार करोड ८० हजार बेरोजगार रहेको तथ्याङ्कमा उल्लेख छ ।

महामारीका कारण बन्द अवस्थामा रहेका रेष्टुरेन्ट बार तथा ठूला पसलहरू पूर्ण खुल्न थालेपछि पनि पर्यटन क्षेत्रमा सुधार आउन नसकेको स्पेनले जनाएको छ । महामारीका कारण बन्द अवस्थामा रहेका रेष्टुरेन्ट बार तथा ठूला पसलहरू पूर्ण खुल्न थालेपछि यस क्षेत्रमा कार्यरत ८४ हजार ५६३ व्यक्तिले काम थालेको बताइएको छ ।

अहिले पनि पर्यटन क्षेत्रमा गतिविधि सञ्चालन नहुँदा बेरोजगार दरमा अपेक्षाकृत कमी आउन नसकिरहेको स्पेनको दावी छ । जुलाईमा स्पेनको उद्योग क्षेत्रको बेरोजगारहरूको सङ्ख्या नौ हजार ४४४ निर्माण क्षेत्रको बेरोजगारीको सङ्ख्यामा छ हजार ५५६ ले कमी आएको छ ।

त्यस्तै महामारीबीच स्पेनको कृषि मात्र एक यस्तो क्षेत्र हो, जहाँ रोजगारको सङ्ख्या यो समयमा पनि ११ हजार १०८ ले वृद्धि भएको देखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?