साउदीको ऊँटगोठबाट १८ वर्षपछि उद्धार

काठमाडौँ, १६ फागुन- साउदी अरबको हाफर अल वातेनको मरुभूमिमा जबर्जस्ती दास बनाएर राखिएका पल्लिकोट–४, ढाप, गुल्मीका टेकबहादुर राकसकोटीको १८ वर्षपछि उद्धार भएको छ । साउदी नागरिक मन्दु नुहाब सम्मेरीले उनलाई २०५८ साउन १६ देखि जबर्जस्ती उँट गोठालो बनाएर राखेका थिए इराकसँग सीमा जोडिएको हाफर क्षेत्र साउदीको राजधानी रियादबाट झन्डै हजार किलोमिटर टाढा पर्छ । रियादस्थित नेपाली दूतावासले राकसकोटीको ८ वर्षको बाँकी तलब ७० हजार रियाल (करिब २० लाख रुपैयाँ) दिलाएर मंगलबार नेपाल पठाएको हो । उनी एयर अरेबियाको उडानबाट राति ८ बजे त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । मालिकले दुई महिनाको तलब दिने, चार महिनाको नदिने गर्दै राखेका थिए ‘आफ्नो देश फर्किएर परिवारलाई भेट्न पाउँछु भन्ने लागेकै थिएन,’ त्रिभुवन विमानस्थल उत्रिएपछि उनले भने, ‘मसँग मेरो शरीर मात्रै थियो । मन पत्थरजस्तो भइसकेको थियो । अनुहारमा कुनै हाँसो थिएन । मेरा रहर, सपना सबै मरुभूमिमा मरिसकेका थिए ।’ उनले श्रीमती र छोरालाई कतिखेर भेटौंजस्तो भएको सुनाए, ‘२०५८ मा तीन महिनाका छोरो र २१ वर्षकी श्रीमती छाडेर साउदी गएको थिएँ । श्रीमती धनकुमारी छोरा हुर्काएर घरमै बसेकी छन्,’ उनले भने, ‘मेरो मन एकदमै हतारिएको छ ।’ १८ वर्षपछि फर्किएका राकसकोटीलाई लिन विमानस्थलमा उनका भिनाजु शेषबहादुर राना पुगेका थिए काठमाडौंस्थित गोल्डेन इन्टरनेसनल म्यानपावरलाई ६० हजार रुपैयाँ बुझाएर बिल्डिङ कन्स्ट्रक्सनमा लेबरको काम गर्न उनी साउदी पुगेका थिए । तर, साउदी पुगेपछि मालिक सम्मेरीले विमानस्थलबाट सीधै हाफर अल वातेनको मरुभूमिमा भेडाबाख्रा हेर्न लिएर गए । ‘एकैपटक मरुभूमिमा लगेर राखियो । जेलभित्र थुनिएजस्तो भयो । मरुभूमिबाट बाहिर निस्केर भाग्ने सम्भावना थिएन,’ उनले भने, ‘अहिलेजस्तो तुरुन्तै नेपालमा फोन गरेर जानकारी दिने माध्यम थिएन । भेडाबाख्रा हेरेर बस्न बाध्य भएँ ।’ आफूले बेलाबेला चिठी पठाउने गरेको भए पनि परिवारले पाए/नपाएको यकिन नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?