कोरोना रोकथामका थप तयारी आवश्यक छ : मुख्यमन्त्री भट्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्न सक्ने भन्दै रोकथामका लागि आवश्यक तयारी गर्नुपर्ने बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्रीले भारतबाट आउने कतिपय नेपाली क्वारेन्टाइनमा नबसी सिधै घर जाने गरेको पाइएको अवस्थामा सङ्क्रमणको जोखिम बढेको बताए ।

उनले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन गर्न निर्देशनसमेत दिए । भारतबाट आउने नेपालीलाई सीमा क्षेत्रबाट सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा पठाउनुपर्ने जिम्मेवारी रहेकोमा पछिल्ला केही हप्तादेखि क्वारेन्टाइनमा पठाउने काम कसैले नगरेको बताइएको छ । जसका कारण प्रदेशमा रोगको जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ । हाल सुदूरपश्चिमका जिल्लामा रहेका क्वारेन्टाइनमा झण्डै दुई हजार व्यक्ति मात्र बसिरहेका छन् ।

प्रदेशमा विभिन्न नाकाबाट हाल दैनिक ३०० देखि बढीमा एक हजारको सङ्ख्यामा नेपाली भित्रिइरहेको क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । “नेपाल भित्रिनेमध्य थोरै व्यक्तिमात्र क्वारेन्टाइनमा जाने गरेको पाइएको छ”, डा अवस्थीले भने, “भित्रिने कतिपय व्यक्ति क्वारेन्टाइनमा नगएर सिधै घर जाने प्रवृत्तिले रोगको जोखिम थप बढेको छ ।”

बैठकमा कोभिड–१९ को उपचार र व्यवस्थापनमा हालसम्म भए गरेका कार्यको समीक्षा र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा छलफल गरिएको छ । बैठकमा कोरोना सङ्क्रमितको उपचार गर्ने नयाँ पद्धति ‘प्लाज्मा थेरापी’ लागू गर्ने बारेमा समेत छलफल गरिएको छ ।

यो विधि हाल सेती प्रादेशिक अस्पताल धनगढीमा मात्र सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको डा अवस्थीले जानकारी दिए । बैठकमा स्वास्थ्य निर्देशक डा अवस्थी, प्रदेशका प्रमुख सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सेती प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलगायत सहभागिता रहेको थियो ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?