पर्वत जिल्ला अस्पतालमा मिर्गौलाको निःशुल्क डायलोसिस सेवा शुरु

काठमाडौं । पर्वत जिल्ला अस्पतालमा मिर्गौलाको निःशुल्क डायलोसिस सेवा शुरु भएको छ ।

अस्पतालमा चार वटा अत्याधुनिक मेसिनबाट सोमबारदेखि मिर्गौलाको डायलोसिस सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

जिल्लाभित्र रहेका नियमित डायलोसिस गर्नुपर्ने मिर्गौलाका बिरामीलाई लक्षित गरी मिर्गौला उपचार सेवा सञ्चालनमा ल्याइएको हो । अहिलेसम्म पर्वतमा मिर्गौलासम्बन्धी उपचार नहुंँदा छिमेकी जिल्ला पोखरा र काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता थियो ।

उक्त सेवा शुरु भएपछि घण्टौं समय र पैसा खर्च गरी डायलोसिसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार मिर्गौला डायलोसिस सेन्टरबाट ६ स्टाफ नर्स, दुई मेडिकल अफिसर र एक जना प्राविधिकले २४ सै घण्टा सेवा प्रदान गर्ने भएका छन् ।

हाल चारवटा मेसिनबाट डायलोसिस शुरु गरिए पनि आवश्यकताका आधारमा मेसिन थप गर्न सकिने जानकारी अध्यक्ष पहाडीले दिए । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममै समावेश भई आएको यो सेवाका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरी अस्पताललाई डायलोसिसका लागि आवश्यक उपकरणसहित तालीम प्राप्त चिकित्सकको व्यवस्था गरेर सेवा शुरु गरेको उनले बताए ।

करिब रु एक करोड ३० लाख भन्दा बढीको लागतमा सञ्चालनमा आएको उक्त सेन्टरबाट दैनिक ६ जना बिरामीको नियमित डायलोसिस गर्न सकिनेछ भने चार वटा मेसिनबाट दुई सिफ्टमा १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने पनि अध्यक्ष पहाडीले बताए ।

अस्पतालले अहिले डायलोसिस सेवा परीक्षणको रुपमा केही दिन सञ्चालन गरिने र औपचारिक उद्घाटन गरी सेवालाई थप प्रभावकारी बनाइने जनाएको छ । जिल्लाभित्रै डायलोसिस सेवा सञ्चालन भएपछि समयसँगै आर्थिक बचत हुने भन्दै बिरामीले राहत महसुस गरेका छन् ।

जिल्लामै डायलोसिस सेवा आउने भएपछि हालसम्म १५ जना सम्पर्कमा आएको पहाडीले बताए । सरकारले मिर्गौला रोगीहरुको निःशुल्क उपचार घोषणा गरे पनि बिरामीले जिल्लाका सरकारी अस्पतालबाट यो सेवा पाउन नसक्दा बाहिरी जिल्लामा जानुपर्ने बाध्यता रहेको थियो ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?