फेरि दुई साता लकडाउन थप्न विज्ञको सुझाव, प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’

काठमाडौं । गत साउन ७ गतेबाट एकाध क्षेत्र बाहेक करिव ४ महिना लामो लकडाउन अन्त्य भएसँगै मानिसहरु आफ्नो दैनिकीमा फर्केका छन् ।

त्यसको साता दिन नबित्दै दोब्बरको संख्यामा संक्रमित थपिनु, मृतकको संख्या बढ्दै जानु र घना बस्ती भएका काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत देशका अन्य शहरहरुमा संक्रमण तीव्र रुपले फैलिनु, गेट वे अफ नेपाल अर्थात् वीरगञ्जमा समुदायस्तरमा कोरोना फैलिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यविद्हरुसँग परामर्श गरेका छन् ।

उनको जिज्ञासामा जनस्वास्थ्यविद्हरुले स्थिती भयावह हुनसक्ने भन्दै दुई साता कडाईका साथ लकडाउन थप्न प्रधानमन्त्रीलाई सुझाएका छन् ।

यसअघि पनि बिना कुनै तयारी लकडाउन खोलिएको भन्दै चिन्ता व्यक्त गरेका विज्ञहरुले प्रधानमन्त्रीसँगको भेटवार्तामा लकडाउन खुलेसँगै कोरोना संक्रमण दर बढ्दै गएको जानकारी गराउँदै बन्दाबन्दी (लकडाउन) थप गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।

यसअघि लोकपथसँगको कुराकानीमा विज्ञहरुले लकडाउनको यो अवधिमा सरकारले कोरोना नियन्त्रणका लागि तीव्र तयारीमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिएका थिए ।

आज मंगलवार भएको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्याउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् ।

संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उनको भनाई छ । स्मरण रहोस्, कोभिडको विषयमा छलफल गर्न एजेण्डामा राखे पनि सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ओली प्रचण्ड सत्ता समीकरणको विवादले एक महिना यता दिशाहीन बनेको छ ।

यसैबीच, प्रधानमन्त्री ओलीले नेपाल भारत खुल्ला सीमा र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए ।

यसअघि डब्ल्यूएचओको नेपालस्थित कार्यालयले समेत कोरोना संक्रमणको दर उच्च हुन सक्ने भन्दै नेपाललाई छुट्टै अनुरोध गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि अन्य दलका नेताहरुसँग पनि राय लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?