प्रदेश प्रहरी भवन निर्माण शुरु

काठमाडौं । वाग्मती प्रदेशका प्रहरी भवन निर्माण योजना अन्तर्गत रु ३१ करोडको लागतमा हेटौँडामा वाग्मती प्रदेश प्रहरी कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढेको छ । कार्यालय भवन साढे चार तलाको १२२ कोठाको सुविधासम्पन्न हुने जनाइएको छ ।

कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्त लामाले तीन वर्षमा सम्पन्न गरिने उक्त भवनको निर्माण ठेक्कामार्फत गरिने जानकारी दिए । हाल त्यहाँको भवन जीर्ण भइसकेको छ । भवन निर्माण वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा निर्माण भइरहेको जनाइएको छ ।
मन्त्रालयका अनुसार प्रदेशअन्तर्गत करीब तीन दर्जन प्रहरी भवन निर्माण भइरहेको छ ।

कतिपय स्थानमा निर्माण भइरहेको तथा कतिपय स्थानमा प्रक्रिया अगाडि बढाइएको छ । गोरखा भूकम्पले क्षतिग्रस्त र जीर्ण तथा प्रहरी भवन नभएको स्थानमा भवन निर्माण भइरहेको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालयले प्रहरीलाई अनुशासित गराउन विशेष अभियान शुरु गरेको छ । घुस लिने र दिने दुवैलाई कारवाही गरिएको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिए । साथै अपराध नियन्त्रण तथा लागूऔषध नियन्त्रण कार्य पनि प्रभावकारी रुपमा अगाडि बढाएको उनको भनाइ छ ।

  • रासस
  • साङ्केतीक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?