युट्युब ट्रेन्डिङको नम्बर एकमा ‘बदला बरीलै’

काठमाडौं । बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । गीतको भिडियो अहिले युट्युबमा सर्वाधिक हेरिएकामध्ये नम्बर एकमा छ । गीतको ‘भ्यूज’ आज साँझसम्ममा १० लाख नाघेको छ ।

गीतमा लोक गायक प्रकाश सपुतको शब्द-सङ्गीत र लोक गायिका देवी घर्तीको स्वर छ । भिडियो निर्देशन पनि सपुतले गरेका छन् । भिडियोमा नायिका केकी अधिकारी र धु्रव कोइरालाको मुख्य अभिनय छ ।

समाजको ज्वलन्त मुद्दा, मौलिक रचना र जीवन्त प्रस्तुतीले गीतलाई सम्प्रेष्य बनाएको छ । गीतले बलात्कार जस्तो जघन्य अपराधको शिकार बन्न विवश महिलाको कथालाई लोक लयात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । “पहिलेदेखि नै तीज गीतमा केही न केही महिलाका विषय उठान हुन्थे”, गायक सपुतले भने, “यसपटक पनि हामीले त्यसैलाई निरन्तरता दिएका छौँ ।”

बलात्कृत हुँदाको महिलाको पीडा र विवशताबाट शुरु भएको गीतको कथा बदलामा गएर टुङ्गिन्छ । अपराध कर्म गर्ने जो कोही एक न एक दिन सजायको भागीदार हुनै पर्ने प्रतिकात्मक सन्देश गीतले दिएको छ ।

बलात्कारपछि मृत्युवरण गरेकी महिला प्रेतको रुपमा प्रकट भई अपराधी पुरुषको हत्या गरी बदला लिएको दृश्य भिडियोमा देख्न पाइन्छ । शक्ति, पहुँच र पैसाका आडमा बलात्कारका दोषी उम्कने प्रवृत्तिमाथि पनि गीतले तीखो व्यङ्ग्य गरेको छ । समाजमा विद्यमान लैङ्गिक विभेद, छोरीछोरीबीचको असमानता जस्ता विषय पनि गीतमा अभिव्यक्त भएका छन् । सपुतको दुई वर्षअघि सार्वजनिक लोकगीत ‘बोल माया’ पनि त्यसबेला युट्युब ट्रेन्डिङको शीर्ष स्थापनमा पुगेको थियो ।

गीत विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको कथा-व्यथामा आधारित छ । गीतले विदेशमा रहेका नेपालीको जीवन भोगाइलाई जीवन्त ढङ्गले उठान गरेको छ । गायक सपुत गीत तयार गर्दा विषय वस्तुको छनोट र प्रस्तुतीकरणमा ध्यान दिनुपर्ने बताए ।

गीतको मर्म र भावलाई भिडियोमा सजीव ढङ्गले उतार्न निर्देशकका हिसाबले सपुत सफल हुन् । आफ्ना हरेक गीतको भिडियो निर्देशन उनी आफैँ गर्छन् । सपुतको गत वर्ष सार्वजनिक लोक दोहोरी गीत ‘गलबन्दी’ पनि चर्चाको शिखरमा पुगेको थियो ।

त्यस गीतले अहिलेसम्म युट्युबमा चार करोड बढी भ्यूज बटुलेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सपुत चलचित्र परदेशी–२ मा नायकका रुपमा देखिँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?