काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउने घोषणा गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेपमा नियुक्त भएका पदाधिकारीहरुलाई शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबहरुलाई मैदान उपलब्ध गराउने बताएका हुन् ।
उनले एन्फाले सूचना दिए काठमाडौं उपत्यका भित्र वा नजिकै कुनैपनि ठाउँमा खेल मैदान उपलब्ध गराउने बताए । फुटबलको विकास कसरी गर्ने भन्ने कुरामा राखेप र एन्फाले संयुक्त रुपमा काम गर्नुपर्नेमा सिलवालले जोड दिए । खेलाडिसँग सम्भावना भएको तर म्याच एक्सपोजरको अभाव भएकोले त्यसका लागि राखेपले सघाउने प्रतिवद्धता जनाए ।
खोलाडिको क्षमता विकासका लागि राम्रो प्रशिक्षण र राम्रो टुर्नामेन्टको जरुरत रहेको भन्दै त्यसका लागि काम गर्नु नै अहिलेको आवस्यकता रहेको बताए । आगामी दशैं अगाडि विश्वकप क्वालिफाई खेल लगायतका ३ वटा महत्वपूर्ण प्रतियोगिता हुने र त्यसमा राम्रो गर्न सके अन्तर्राष्ट्रिय रुपमा नै नेपालको फुटबलको चर्चा हुने बताए ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाली फुटबललाई व्यवसायीक रुपमा विकास गर्दै लैजान सरकारले एन्फालाई आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले राष्ट्रिय खेलकुद परिषद् मार्फत आर्थिक सहयोग उपलब्ध हुने विश्वास व्यक्त गरे ।
उनले सरकारले कम्तिमा पनि तीन देखि चार वर्षका लगानी गरेमा नेपालको फुटबल व्यवसायीक रुपमा अगाडि बढन सक्षम बन्ने बताए । लिगलाई तीन महिना भन्दा बढी समय सञ्चालन गर्न र थप व्यवस्थित बनाउन पनि सरकारको लगानी हुनुपर्ने बताए । अहिले कतिपय ‘ए’ डिभिजन क्लबका आफ्नै खेल मैदान नभएकाले राखेपले उपलब्ध गराउनेमा आफु विश्वस्त रहेको शेर्पाले बताए ।
लकडाउनका कारणले अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सबै लिग रोकिएका छन् । यसका साथै अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतियोगितामा समेत खेलाडिहरु जान पाएका छैनन् । त्यस्तै एन्फाले आगामी भदौ १ गतेबाट खेलाडिहरुलाई बन्द प्रशिक्षण गराउने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया