नेपालमा एसिड आक्रमणः यस्तो छ डरलाग्दो तथ्यांक

काठमाडौं । नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।

बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तहरुबाटै एसिड आक्रमण बढी हुने गरेको तथ्याङ्कले देखाएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आक्रमण हुने तथ्याङ्क रहेको बताए । संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा महानिरीक्षक थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटना मध्ये ८ वटा बदलाको भावनाले घटेको बताए । प्रेम सम्बन्धमा खटपट आएका कारण ५ र अनुहार कुरुप बनाउने हिसाबले २ वटा एसिड आक्रमणका घटना घटेको पाइएको उनले बताए ।

महान्यायाधिवक्ता अग्नि खरेलले एसिड जस्ता रासायनिक पदार्थहरुको सहज उपलब्धता नहुने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताए । सजिलै बजारमा एसिड प्राप्त हुने भएकाले पनि घटनाहरु बढी घट्ने गरेको उनले बताए । सरकारले विक्रि वितरणका लागि निश्चित कार्यविधि बनाउनुपर्ने उनले बताए ।

एसिड जस्ता रासायनीक पदार्थहरु आयात गर्ने उद्योग प्रतिष्ठान सम्बन्धि ऐन कानून भएपनि विक्रि वितरणका लागि कुनै कानून छैन । नेपालमा सबै भन्दा बढी ब्याट्रि तथा इन्भर्टरहरुमा प्रयोग हुने सल्फ्युरिक एसिड आयात हुने गरेको छ । इलेक्ट्रोनिक तथा सोलार इभर्टर उपलब्ध हुने ठाउँहरुमा यो सुलभ रुपमा पाइन्छ । सरकारले एसिडको बिक्रि वितरणका र एसिड आक्रमण गर्नेलाई कडा कानूनी व्यवस्था गरे एसिड आक्रमणका घटनाहरुमा केही कमि आउन सक्छ । एसिड आक्रमण गर्ने व्यक्तिलाई बढीमा ८ वर्षको सजाय तोकिएकोमा त्यसलाई बढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?